एसपी रिपोर्टर
जनकपुरधाम, पुष १९ :
नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्ने अडान फेरी दोहराउनु भएको छ । एमाले धनुषाको कार्यसमितिको विस्तारित बैठक तथा एघारौँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मानकालागि आयोजित कार्यक्रममा सम्बोधन गर्दै उपमहासचिव महासेठले गैरसंवैधानिक सरकारले प्रतिनिधिसभा विघटन भएकाले पुनस्र्थापना हुनुपर्ने बताउनु भयो । जेनजी आन्दोलनको नाममा असंवैधानिक रुपमा बनेको सरकारले प्रतिनिधिसभा विघटन गर्नु गैरकानुनी रहेको बताउनु भयो ।

यद्यपि आफूहरु चुनाव विरोधी वा चुनावबाट डराउने शक्ति नरहेको समेत उल्लेख गर्नुभयो । महासेठले ‘सर्वोच्चबाट होस वा कुनै विधि होस प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्छ, अगाडि भन्नुभयो ‘प्रतिनिधिसभा पुनस्र्थापना पश्चात संसद भित्रबाटै सर्वदलीय सरकार गठन हुनु पर्छ ।’ सोही सर्वदलीय सरकारले चुनाव गराउनुपर्ने पक्षमा आफूहरु रहेको उहाँको भनाई थियो । तर यसको अर्थ यो होइन कि हामी चुनावबाट भाग्छौँ ।’

यदि सर्वोच्चबाट प्रतिनिधिसभा पुनस्र्थापना नभए हामी चुनावमा जान्छौँ र यसकालागि आन्तरिक रुपमा चुनावको तयारीमा लाग्न कार्यकर्ताहरुलाई महासेठले निर्देशन समेत दिनुभयो । एक अर्को प्रसंगमा महासेठले गणतन्त्र विरोधी शक्ति, कम्यनुष्टि सरकार नरुचाउने तथा नेपाली कांग्रेस एमाले गठबन्धन सरकारको लोकप्रियता नरुचाउने शक्तिहरु जेनजीको नाममा गत भदौ २३ र २४ गते विध्वंस मच्चाएको आरोप लगाउनु भयो ।

कार्यक्रममा पूर्व मन्त्री जुली महतोले जेनजीको नाममा गरिएको आन्दोलनमा विदेशी शक्तिहरुको हात रहेको तर्फ इशारा गर्नुभयो । उहाँले एमालेको नेतृत्वमा रहेको सरकार विकास तर्फ अग्रसर रहेको अवस्थामा जेनजी आन्दोलनमा नेपाललाई पछाडि धकेल्ने दुश्प्रयास भएको बताउनुभयो । कार्यक्रममा एमालेको ११औँ महाधिवेशनमा धनुषा जिल्लाबाट निर्वाचित पदाधिकारीहरुलाई दोसल्ला तथा सम्मानपत्रबाट सम्मानित गरिएको थियो ।