एसपी रिपोर्टर
जनकपुरधाम, पुष ७ : ‘राम अशिष यादव’ कसैले शिक्षक, कसैले अभियन्ता जे सुकै भनेपनि समाज र जनताको आँखा र भावनामा पत्रकारकै रुपमा प्रवेश गरेका व्यक्तित्व हुन । राम अशिष शिक्षकक हुदै गर्दा केहि शिक्षक र विद्यार्थीहरुले चिनेको हुनुपर्दछ तर जब उनी धनुषालाई कार्यक्षेत्र बनाएर पत्रकारितामा पनि संलग्न भए समाज र जनताको नजरमा पर्न थालेकै हुन ।
उनको वास्तविक पहिचान र प्रभाव पत्रकारिताकै कारणले भएको तर्कलाई उनले पनि नर्कान सक्दैनन् । नेपालको जेठा अखबार गोरखापत्र, अन्नपूर्ण पोष्ट, इमेज च्यानल सहितका काठमाण्डौं केन्द्रित मिडिया देखि जनकपुरधाममै एफ र एम र टिभी खोल्न भुमिका निर्वाह गर्दै संस्थापक भएपनि पत्रकारिता नछोडेका यादव अन्तिर संविधान र २०७२ को नेपालको संविधान जारी भएको मध्य समय २०६७ देखि २०७० सम्म नेपाल पत्रकार महासंघ धनुषाको अध्यक्ष भएर नेतृत्व सम्हाले ।

मधेश आन्दोलन पछि प्राप्त उपलब्धीलाई संस्थागत गर्न सोहि अनुसारको संविधान बनाउनु पर्ने राजनितिक रस्साकस्सीका बिच श्रमजीवी पत्रकारहरुको नेतृत्व गरेका यादव आफनो सरल, नम्र व्यवहारकै कारण कुशलता पूर्वक सबैसँगको सहकार्यमा कार्यकाल सुसम्पन्न गरे । पत्रकार महासंघ धनुषाको अध्यक्ष भएकै कारण जनकपुरधामको एतिहासिक गंगासागर सफाई अभियानको अगुवाइको मौका पाएका उनको त्यसपछिको जिवन धमाधम सफलता तर्फ लम्कियो । त्यसपछि उनी हरित र सफाई अभियानीका रुपमा परिचय बनाए ।

गंगासागरको सफाई गर्दै महागंगा आरतीको समेत आरम्भ कर्ताका रुपमा आफुलाई उभ्याउन सफलका यादवको समाजिक र राजनितिक छवि विकसित हुदै गयो । पत्रकारका रुपमा जनकपुरधामको शहरी बजार क्षेत्रमा पनि राम्रो सम्पर्क बनाएका उनले जनकपुरसँगै जोडिएको धनुषाको निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा क्षेत्रबाट २०७४ मा चुनाव लडे ।
नेपालको संविधान २०७२ प्रतिको असन्तुष्टि र मधेश आन्दोलनको राप तापका बिच भएको उनको राजनितिक जीवनको सो पहिलो निर्वाचन निर्वाचित भएका उनी त्यसपछिको २०७९ को निर्वाचन पनि आफना सरल र निष्कलङ्क छविका कारण जित्न सफल भए । पहिलो प्रदेशसभामा मैथिली भाषामै बोल्न प्रारम्भ गरेका उनले संसदिय दलका उपनेता भएर चित्त बुझाए ।
पटक पटक मन्त्री बन्नेमा उनको चर्चा चलेपनि अवसर नपाएका उनी दोस्रो प्रदेशसभाको ३ वर्ष सम्म पनि पार्टीको दलको प्रमुख सचेतक बनेरै बिताए । दोस्रो प्रदेशसभाको तिन वर्षको कार्यकालमा पाँच वटा मुख्य मन्त्री र करिव सात पटकको मन्त्री परिषद हेरफेरमा समेत कुनै पदमा अटाउन नसकेको उनी अन्ततः सभामुख बन्न सफल भएका छन् । यस पटक मन्त्री र सभामुख दुवै रोज्ने अवसर रहेपनि उनले सभामुख रोजेको बताइन्छ ।

आइतवार उनलाई सभामुख निर्वाचित गराउने क्रममा समर्थन गरेका सातै दलका नेता र सांसदहरुले दल भन्दा माथी उठेर कार्यसम्पादन गर्ने आशा व्यक्त गरिरहँदा स्वयम उनले पनि रोष्टमबाटै सभामुखको उम्मेदवारीको फारममै पनि आफु जसपाको सांसद उल्लेख नरहेको तर्क गर्दै अव कुनै दलको नरहेको स्पष्ट पारे ।
उनी विरुद्व उम्मेदवारी दिएका एमालेका त्रिलोकी प्रसादले बरु आफु एमाले र एमालेको उम्मेदवार रहेको रोष्टममा बोल्दै यादवलाई गिज्याउन चाहेकै हुन तर यादव आफु सभामुख भइसकेपछि दलीय गन्ध आउन नदिनेमा प्रष्ट बोल्ने गरेका छन् । उनको सभामुखको कार्यकाल पनि चुनौतीले भरिएको छ ।

जलेको प्रदेशसभाको पुर्ननिर्माण, थन्किएका र पारित भएका ऐन कार्यान्वयन र प्रभावकारी बनाउदै प्राप्त उपलब्धी र प्रदेश संरचना रहँदैन कि ? भन्ने आशंका हरुलाई चिर्नु पनि उनको मुख्य अभिभारा हुनेछ ।
आइतवार उनी निर्वाचित भएको प्रदेशसभा बैठकमा निवर्तमान सभामुख र उनको क्षेत्र छेउकै प्रदेशसभा सदस्य एमालेका रामचन्द्र मण्डलको पनि उपस्थिती थियो । समर्थन गरेका सात दल सहित मुख्य प्रतिपक्षी एमाले सहितका तिन दललाई समेत विश्वासमा लिएर अगाडि बढ्नु यादवका लागि चुनौतीपूर्ण नै रहने देखिन्छ । यद्यपि स्वभाव र नम्रता धनी उनी सो वातावरण बनाउन सक्ने क्षमताको रहेको विश्लेषण भइरहेको छ ।
आइतवार प्रदेशसभामा उपस्थित कुल ९६ सांसद मध्ये ७२ सांसदको मत सहित निर्वाचित यादव आइतवारै साँझ सपथ ग्रहण गर्दै सोमवार विहान शहीदगेट पुगेर शहिद प्रति माल्यार्पण गरि आजै पदभार ग्रहण गरेका हुन । त्यस अघि उनी अंग्रेजी विषयका शिक्षक पनि थिए ।





