एसपी रिपोर्टर
जनकपुरधाम, मंसिर २१ :
नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले पद तथा गोपनियताको सपथ ग्रहण संगै आजै पदभार समेत ग्रहण गरेका छन् । जेन जी आन्दोलनमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय जलेर खरानी भएपछि हाल गृह सञ्चार तथा कानुन मन्त्रालयमा कायम रहेको कार्यालयमा पुगेर मुख्यमन्त्री यादव पदभार ग्रहण गरेका हुन ।

पदभार ग्रहण गर्दै मुख्यमन्त्री यादव पहिलो निर्णयमा प्रमुख सचिवको संयोजकत्वमा एक कार्यदल बनाएका छन् । सात सदस्यीय कार्यदलले प्रदेशको सार्वजानिक सेवा प्रवाह, संगठन संरचना तथा विकास निर्माणलाई छिटो छरितो र चुस्त दुरुस्त गुणस्तरीय तथा प्रभावकारी बनाई वित्तिय तथा प्रशासनिक सुशासन प्रवर्द्धन गर्न अगामी दिनमा गर्नुपर्ने सुधारका प्रयासहरु पहिचान गरि १५ दिन भित्र मुख्यमन्त्री समक्ष प्रतिवेदन पेश गर्ने छ ।

कार्यदलमा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रमुख तथा कानन सचिव, मन्त्रालयका सचिवहरु, नीति आयोगका उपाध्यक्ष र प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक सहित रहेका छन् । पदभार ग्रहण पश्चात बोल्दै मुख्यमन्त्री यादवले सुशासन कायम, मधेश सरकारबाट हुने सेवा प्रवाह छिटो छरितो र चुस्त दुरुस्त गर्ने आफनो पहिलो प्राथमिकता रहने बताएका छन् ।

पहिलो मन्त्री परिषद बैठक बस्दै, तस्वीर : मुख्यमन्त्रीको सचिवालय

मुख्यमन्त्री यादवले सात दलका ७७ सांसदहरुको समर्थनमा बनेको यो सरकार स्थिर र प्रभावकारी हुनेमा विश्वस्त रहन आग्रह गरेका छन् । आजै चार सदस्यीय मन्त्री परिषदको पहिलो बैठक समेत बस्दै छ ।

तस्वीरहरु : पुरन रौनियार