एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक २२ : तत्कालिन माओवादी केन्द्र र हाल नव गठित नेकपाका प्रदेश सांसद रहबर अन्सारी र माला कर्णले मित नदिने परिस्थिति उत्पन्न भएपछि मुख्यमन्त्री जितेन्द्र सोनलले राजिनामा दिएका छन् ।
विश्वासको मतका लागि आज बसेको प्रदेशसभा बैठकमा सो स्थितिको सृजना भएपछि मुख्यमन्त्री सोनल विश्वासको मत सामना नगरि राजिनामा दिएका हुन । बैठकको सुरुमा आफना मन्तव्य सहित मुख्यमन्त्री सोनलले विश्वासको मतका लागि प्रस्ताव पेश गरे, प्रस्ताव माथिको छलफलमा दलीय आधारमा हरेक दलका नेताहरुले आफनो धारणा राखेपछि मुख्यमन्त्री सोनल दलका नेताहरुले उठाएको सवालको जवाफ दिन रोष्टम जानु पुर्व प्रदेशसभा सदस्य अन्सारीले आफुले बोल्न पाउनुपर्ने माग गरे सभामुखले रोष्टममा आएर तिन मिनेटमा आफनो कुरा राख्न आदेश दिए ।
रोष्टममा आफना मन्तव्यका क्रममा आफु पुर्व राज्यमन्त्री रहेपनि रहबरले अहिले सम्मका मधेश सरकारलाई भ्रष्टाचारी भन्दै विभिन्न आरोप लगाए । उनले सरकारलाई मात्र होइन संसद र सांसदको पनि औचित्य सकिएको भन्दै आफनै मुखमा कालो दलेर विश्वासको मत नदिने संकेत गरे । रहबरको मन्तव्य पछि सोहि पार्टीकी प्रदेशसभा सदस्य तथा पुर्व राज्यमन्त्री माला कर्णले पनि आफु दलको कुरा नमान्ने भन्दै विश्वासको मत नदिने घोषणा नै गरिदिइन ।
यो घटना पुर्व सम्म सोनल संग संसदमा ५४ जना सांसद पक्षमै थियो किन भने जनमतका सतिश सिंह र त्रिभुवन साह अनुपस्थित थिए । अन्सारी र कर्णको विद्रोह पछि सोनलको पक्षमा ५२ जना सांसद मात्र हुने स्थिती उत्पन्न भयो र मुख्यमन्त्री तथा मन्त्रीहरु सभाबाट बाहिरिए ।

सभामुखले मत विभाजनका लागि अग्रसरता देखाए तर सत्तापक्षले सरकारको अनुपस्थितिमा सदन चलाउन नमिल्ने भन्दै प्रतिवाद गरे पछि सभामुखले १० मिनेटका लागि सदन स्थगित गरेपछि माओवादी पार्टीका प्रदेशसभा सदस्यहरु छलफलका लागि बसे । सत्तापक्ष अन्सारीलाई मनाउने कसरत गर्दै गर्दा सभामुख बैठक अगाडि बढाउँदै मत विभाजन प्रक्रिया अगाडि बढाउँदै संसद भित्र प्रवेशका लागि तिन मिनेट जनाउ घण्टी बजाउन आदेश दिए ।
सत्तापक्ष पुनः प्रतिवादमा उत्रे र सभामुख संग समय माग गरे । सभामुखले अव समय दिन नसकिने जवाफ दिएपछि मुख्यमन्त्री सोनल आफुलाई रोष्टमबाटै बोल्न दिन आग्रह गरे । सभामुखले रोष्टममा अव उचित नहुने भन्दै फ्लोरबाटै बोल्न आग्रह गरे र सोहि क्रममा मुख्यमन्त्री सोनलले सभामुखको गतिविधी माथी प्रश्न उठाउँदै तत्काल आफु राजिनामा दिएको घोषणा गरे ।
मुख्यमन्त्री सहित सत्तापक्षले राजिनामा दिएर हाल बनेकै संविधानको धारा बमोजिम पुनः सरकारमा दावी पेश हुने सम्भावना जिवित राख्न यस्तो कदम अगाडि बढाएको बताइन्छ । माओवादीलाई मनाएर पुनः सोहि आधारमा सरकारका लागि दावी पेश गर्ने सत्तापक्षको रणनीति छ । पुनः मधेशमा सत्ताको लुछाचोरीको खेल सुरु भएको छ ।
गत आश्विन २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोनल आश्विन ३० गते पद तथा गोपनियताको सपथ ग्रहण गर्दै सोहि दिन पदभार ग्रहण गरेको २५ औं दिन आज विश्वासको मत लिन चाहेका थिए ।





