एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक १७ :
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाली अतिरिक्त भाषाहरू अझै पनि जागिरको भाषा बन्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आए पनि नेपालका भाषाहरूको अपेक्षित विकास हुन नसक्नुको मुख्य कारण जागिरमा प्रयोग नहुनु रहेको बताउनुभयो ।
मैथिलीका महाकवि विद्यापतिको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले मैथिली लगायत नेपालमा बोलिने अन्य भाषाहरूले पनि नेपाली भाषा सरह सुविधा पाए ती भाषाहरूले समेत द्रुत प्रगति गर्न सक्ने धारणा राख्नुभयो । उहाँले विद्यापतिलाई मिथिलाको मात्र नभई सम्पूर्ण नेपालको साझा धरोहर बताउँदै उहाँका रचनाहरूले प्रेम, समानता र लोकतन्त्रप्रतिको आस्था प्रकट गरेको उल्लेख गर्नुभयो ।
ठाकुरले विद्यापतिको रचनाबाट वर्तमान पुस्ताले केवल प्रेमरस मात्र होइन, समानता, लोकतन्त्र र जनताको पक्षमा काम गर्ने प्रेरणा लिन सक्ने बताउनुभयो ।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले नेपालको संविधानमा देवनागरी लिपिमा लेखिने भाषाहरूलाई सरकारी कामकाजको भाषा बनाउन सक्ने व्यवस्था रहे पनि हालसम्म नेपालीलाई मात्र आधिकारिक भाषा बनाइएकामा ध्यानाकर्षण गराउनुभयो । उहाँले भाषा आयोगको सिफारिसका आधारमा नेपाली अतिरिक्त भाषाहरूलाई पनि सरकारी कामकाजमा प्रयोग गर्न सकिने भएकाले निराश नहुन आग्रह गर्नुभयो ।
कार्यक्रममा लोसपाका नेता परमेश्वर साह, प्रवक्ता डा. आभाष लाभ, साहित्यकारहरू तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।