एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १३:
आगामी मंसिर ९ गते हुने ऐतिहासिक विवाहपञ्चमी महोत्सवलाई भव्य र व्यवस्थित बनाउनका लागि जनकपुरधामस्थित जानकी मन्दिरमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा हरेक वर्ष झैं यस वर्ष पनि महोत्सवलाई गरिमामय रूपमा सम्पन्न गर्ने निर्णय गरिएको छ।

बैठकले महोत्सवको सफल आयोजनाका लागि विभिन्न उपसमितिहरू गठन गर्ने निर्णय गरेको छ। महोत्सवका क्रममा अयोध्याबाट आउने साधु–सन्तहरूको आवास तथा भोजन व्यवस्थापनको जिम्मेवारी जानकी मन्दिरले लिने जनाइएको छ।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले विवाहपञ्चमी महोत्सवलाई भव्य र सभ्य बनाउन सबै जनकपुरवासीले आफ्नो तर्फबाट सहयोग र योगदान गर्न आग्रह गर्नुभयो।
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव मंसिर ४ गतेदेखि सुरु भई विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रमसँगै मंसिर १० गते समापन हुने तय गरिएको छ।





