एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १० : लोक आस्थाको महा पर्व छठ पूजाको आज महत्वपूर्ण तेस्रो दिन अर्थात षष्ठी तिथि, यस दिन प्रसादका रुपमा बनाइएको ठकुवा, भुस्वा, पुरी कचवनिया र फलफुल सहितका प्रसाद सामग्रीहरु लिएर पोखरी घाट पुरयाइन्छ ।
आजको दिनलाई सौझका अर्घ अर्थात अस्ताउँदो सूर्यलाई अर्घ दिइने दिन । गत राती खरनाको प्रसाद ग्रहण गरेसँगै ब्रत सुरु गरेकी ब्रतालुहरु सुर्य अस्ताउनु भन्दा केहि घण्टा अगाडि जलासयमा गई बिच पानीमा उभेर प्रार्थना गर्ने र सुर्य अस्ताउन लाग्दा अर्घ दिइने परम्परा छ ।

प्रसादहरूमा नरिवल, टापनिम्बु, स्याउ, उखु, मुला, बेसारको झार, अदुवा, सकरकन्दसहितका विभिन्न स्थानिय कृषि उत्पादनहरूसमेत प्रसाद समाग्रीको रुपमा चढाइने भएकाले यसलाई कृषिको पूजाको रुपमा समेत लिइन्छ । यद्यपि पछिल्लो समय माटोको चुल्हो भन्दा आधुनिक चुल्हा, मुर्ति पुजा सहितका आधुनिक प्रभाव यस पर्वमा पर्न थालेको जानकारहरु बताउछन् ।
स्थानिय कृषिजन्य उत्पादनहरु आज अस्ताउँदो सुर्य देवतालाई चढाउँदै धन्यवाद दिने र पुनः सफल कृषि उत्पादनको कामना समेत यस पर्वमा हुने गरेको छ । सम्पुर्ण समाग्री सहित पोखरी र सरोबर घाट पुगेका ब्रतालुहरु साँझ दिप, धुप, अगरबत्ती प्रज्वलीत गरि सुर्य देवता र छठिमाताको पुजा आराधना गरि राती पोखरी घाटमै जाग्राम बस्ने गर्दछन् ।

स्थानिय रुपमै माटोले बनाइएको माटोको नयाँ घैलो, हाँथी, कोसिया कुरबार, बाँसले बनाइएको कोल सुप, सुपा, ढकिया, चंगेरासहितमा प्रसाद राखि जम्मा भएका व्रतालुहरुले जलाशयको दृश्य मनमोहक बनाइएको हुन्छ । अस्ताउँदो सूर्यलाई अर्घ्य दिदा व्रती हरु दुवै हातमा चामलको घोल र सिन्दुर लगाएर अक्षत र फुल सहित पालैपालो अर्घ सामग्री सूर्य देवता समक्ष अर्पण गरिन्छ ।
आज राति भक्तजनहरु जलाशय घाटमै प्रसादको सुरक्षाका लागि छठी माता पूजाको गीत र सांस्कृतिक कार्यक्रम गरि जाग्राम बस्ने गर्दछ । पर्वको चौथो तथा अन्तिम दिनलाई पारन भनिन्छ । यस दिन व्रती हरु विहान सुर्य उदाउने वितिकै जलाशयमा स्नान गरि उदाएको सुर्य देवतालाई अर्घ्य दिएपछि छठ विधिवत रूपमा सम्पन्न हुन्छ ।






