एसपी रिपोर्टर
जनकपुरधाम, असोज १८ :
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सखुवा महेन्द्रनगरस्थित दुधमती एफ.एम. १०४ मेगाहर्जमै पसेर प्रहरीले आतंक मचाएको खुलेको छ । गत असोज १३ गते कै घटनाको क्रममा रेडियोका सञ्चालक पत्रकार अनिल कुशवाहामाथि सञ्चारगृहमै प्रहरीले दुव्र्यवहार समेत गरेको थियो ।

सो क्रममा प्रहरीले सञ्चारगृहमा अनाधिकृत प्रवेश गर्दै आतंकित बनाउने मात्र नभई एफएम प्रसारण नै समेत अवरुद्ध गर्न लगाएको र पत्रकार महतोलाई ईलाकामा लगेर धाकधम्की दिदै घटना बाहिर ल्याए जे पनि हुन सक्ने त्रास देखाएपछि घटना गौन रहेको थियो ।

पत्रकार महासंघ धनुषा शाखामा दिएको निवेदनमा कुशवाहाले असोज १३ गते संचारकर्मकै क्रममा आफूमाथि प्रहरी ज्यादती भएको गुनासो गरेका छन् । उनका अनुसार, एक स्थानीय व्यवसायीको भनाइ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको निहुँमा ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक राजाराम यादव स्वयं एफ.एम. कार्यालयमै पसेर प्रत्यक्ष प्रसारण बन्द गराएका थिए ।

त्यही दिन सुवधिमाई मन्दिरमा भइरहेको झिझिया कार्यक्रमको प्रत्यक्ष प्रशारण भइरहेको बेला निरीक्षक यादवले आफूलाई कार्यालयमा लगेर गालीगलौज, अपमानजनक व्यवहार र थुन्ने धम्कीसमेत दिएको निवेदनमा उल्लेख छ ।

पत्रकार कुशवाहाले प्रेस स्वतन्त्रतामाथि गरिएको यस किसिमको हस्तक्षेप अस्वीकार्य भएको बताउँदै निष्पक्ष छानबिन गरी संलग्न प्रहरी अधिकारीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । उनले पत्रकारलाई धम्की र दुव्र्यवहार गर्नुका साथै प्रसारण अवरुद्ध गर्नु प्रहरीको बर्दीको आडमा गरिएको ज्यादती र प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष प्रहार भएको भन्दै दोषी प्रहरीलाई कडा कारबाही गर्न आग्रह गरेका छन् ।

प्रहरीले उक्त पोस्ट डिलिट गराउँदै बाहिर यस विषयमा केही भने वा लेखे ठीक नहुने चेतावनी दिएकाले चारदिन सम्म घटना बाहिर नल्याएको बताए । यता प्रहरी निरीक्षक यादवले इलाका प्रहरी सम्बन्धि पोस्ट लेख्दा आफ्नो प्रतिक्रिया नलिएको कारण बोलाएर साइवर अपराधमा मुद्दा दर्ता गर्ने चेतनी दिएको स्वीकारे । पटकपटक पत्रकार कुशवाहालाई फोन गरेपनि नआएपछि एफएममा खोज्न गएको तर, प्रशारण बन्द भने नगराएको प्रहरी निरीक्षक यादवको दावी छ ।

एता नेपाल पत्रकार महासंघ धनुषाले विज्ञप्ती जारी गर्दै घटना निन्दनीय रहेकाले घटनामा दोषि प्रहरी उपर कारवाहीको जोडदार माग गरेको छ । हेर्नोस् प्रेस विज्ञप्ती