एसपी रिपोर्टर
जनकपुरधाम, असोज ७ :
जेनजी आन्दोलनबाट ध्वस्त प्रदेशसभाको बैठक जे जस्तै अवस्थामा मंगलवार बसेको छ । संघिय संविधान बचाउनु पर्ने सन्देश दिनका लागि समेत प्रदेशसभा आह्वानमा ढिलाई गर्न नहुने भन्दै सर्वदलीय सहमति अनुसार प्रदेश प्रमुखको आह्वानमा प्रदेशसभा छैठौं अधिवेशनको पहिलो बैठक सभामुख रामचन्द्र मण्डलले आह्वान गरेका हुन ।

बैठकको पहिलो दिन मंगलवार बसेको बैठकमा नेताहरु पनि सोहि विषयमा केन्द्रित रहे । हरेक दलका नेताहरुले संघियता पछि मधेशमा विकास, भौतिक पूर्वाधारको विस्तार र सडक सञ्जाल सहित, पहिचान सहितको प्रदेश सहितकलाई उपलब्धि देखाउँदै संघियता बचाउको पक्षमा बोलेका छन् ।

यद्यपि सुरु भएको प्रदेशसभा बैठक भित्र पनि एक खिचडी पाकिरहेको चर्चा नचलेको भने होइन । अहिलेको दलीय व्यवस्थामा जनमत पार्टीको १३ सांसदको गणितको आधारमा संसदिय दलका नेता नभएपनि पार्टीको सिफारिसमा आश्चर्यजनक तरिकाले मुख्यमन्त्री बनेका सतिश कुमार सिंह भदौ २४ गतेको विध्वंशकारी आगजनी र लुटपाटका दिन फेसबुकमा राजिनामा दिएर आन्दोलनमा समर्थन जनाएको भाव प्रस्तुत गरि चर्चामा आए ।

उनले प्रदेश प्रमुखलाई पनि राजिनामा बुझाउन लागेको पत्र सहितको समाचारहरु बाहिरियो । तर स्थिती समान्य बनेपछि एकाएक उनले बोली फेरे र राजिनामा फेसबुकमा नहुने भन्दै कुरा बद्ले । त्यसपछि जनमतले मुख्यमन्त्री सहित सबै मन्त्री फिर्ता बोलाउने निर्णय र निर्देशन जारी गरे तर मुख्यमन्त्री टेरेन । पार्टीले तिन दिने अल्टिमेटम सहित स्पष्टिकरण सोधेको भएपनि मुख्यमन्त्री मंगलवार सत्ता तर्फको कित्तामै बसेर मुख्यमन्त्री बनाएको आफनै दललाई चुनौति दिएका छन् । उनले विश्वासको मत सामना गर्ने उच्च मनोबलका साथ बताइरहेका छन् ।

यस्तो छ भित्री कारण

मुख्यमन्त्री सिंह राजिनामा दिन तयार नै थिए, प्रदेश प्रमुख आएपछि तुरुन्तै राजिनामा औपचारिक रुपमा बुझाउने तयारी र मनस्थिति उनको थियो । तर यहाँको मुख्य दुई दल एमाले कांग्रेसको रणनीतिमा पदका लागि लोभ्याएर मुख्यमन्त्री बाटो फेरेका मात्र छैनन दलीय व्यवस्थालाई चुनौती दिएका छन् ।

अहिलेको अवस्थामा मुख्यमन्त्री बनेर कुनै फाइदा नहुने, पृथक परिस्थिती रहेकाले जतिसुकै बेला पनि पदच्युत हुने सम्भावना बुझेका कांग्रेस र मुख्यमन्त्री भन्दा राम्रो अर्वो बजेटको भौतिक पुर्वाधार विकास मन्त्रालय अहिलेको परिस्थितिमा आफनो लागि उत्तम बुझेका एमाले सहित दुई ठुला दलको आर्शिवाद मा मुख्यमन्त्री विश्वासको मत पाउने आशामा छन् ।

दुई ठुला सत्ताधारी दल मात्र होइन संघियता बचाउनु पर्छ भन्दै यस विषयमा प्रतिपक्षी जसपा नेपाल पनि मौन छ । उनले मुख्यमन्त्रीको कदमको विरोध यस कारण गरिरहेको छैन किनकी जनमत पार्टीमा भाँडभैलो उनका लागि मधेशमा राजनीति फाईदा हो । मुख्यमन्त्री आफु विश्वासको मत पाउने देखाएर जनमतका सक्दो सांसद आफु तिर तान्ने प्रयासमा छन् ।

यद्यपि मंगलवारको बैठकमा जनमतका १३ मध्ये ११ सांसद प्रतिपक्षमा बसे भने मुख्यमन्त्री सत्ता पक्षमै बसेका छन् । उनको एक महिला सांसद प्रदेशसभामा उपसभामुख हुन । मुख्यमन्त्री सिंह आफु एमाले कांग्रेस एकिकृत समाजवादी सहितक समर्थनमा करिव ५८ मत ल्याउने जोडघटाउमा छन् । स्रोतका अनुसार मुख्यमन्त्री सिंह जनमतका सांसद सक्दो तानेर सरकार टिकाउने न्यायालयले निर्णय नगरे सम्म सरकार चलाइरहने दाउमा छन् ।

तर मुख्यमन्त्रीको यो कदम भने दलीय व्यवस्थाका लागि चुनौती र खराब नजिरको काम गर्ने जानकारहरु बताउछन् । मुख्यमन्त्री अहिले यो बाटोमा सफल भए भोली मुख्यमन्त्रीलाई साहारा दिने तिनै दलहरुलाई यो नजिरले भारी पर्ने टिक्का टिप्पणी हुन थालेको छ । एमाले कांग्रेस मुख्यमन्त्रीको स्वभाव र बाध्यतालाई फाइदा उठाउँदै आज प्रयोग गर्ने हो भने भोली त्यस गेममा आफै फस्ने उनीहरुको भनाई छ ।