एसपी रिपोर्टर
जनकपुरधाम, असोज ७ :
जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले कर्मचारीहरूसँग दुर्व्यवहार गरेको आरोप लगाइएको छ। साहले सोमबार कार्यालयका कर्मचारीहरूप्रति गालीगलौज गरेको भन्दै उनीहरू आन्दोलित बनेका छन्।
कर्मचारीहरूले पेन डाउन गर्दै विरोध जनाएको छन्। उनीहरूले उपप्रमुख साहले मदिरा सेवनपछि दुर्व्यवहार गरेको दाबी गरेका छन्। दशैंको पहिलो दिन घटस्थापनाको अवसरमा उपमहानगरपालिकाले कलश यात्रा निकालेको थियो। सोही कार्यक्रमपछि थकित अवस्थामा आराम गरिरहेका कर्मचारीलाई साहले अपमानजनक शब्द प्रयोग गरेको आरोप लगाइएको छ।
उपमहानगरको भण्डारण महाशाखाका प्रमुख गणेश यादवका अनुसार, उपप्रमुख साह कार्यालय समयमा नियमित रूपमा उपस्थित नहुने र आउने बेला पनि अधीनस्थ कर्मचारीलाई जथाभावी गाली गर्ने प्रवृत्ति देखाउने गरेको बताए।
कर्मचारीहरूले उपप्रमुख साहविरुद्ध सार्वजनिक अपराध मुद्दा दायर गर्ने तयारी समेत गरेका छन्।





