एसपी रिपोर्टर
जनकपुरधाम, असोज ६ :
हिन्दू धर्मावलम्बीहरूको महान् चाड दशैँ आजदेखि प्रारम्भ भएको छ। पर्वको पहिलो दिन घटस्थापना गरिँदै जनकपुरधामको राजदेवी मन्दिरसहित विभिन्न शक्तिपीठमा भक्तजनहरूको भीड लागेको छ।
जनकपुरधामका प्रमुख शक्तिपीठहरू — राजदेवी मन्दिर, बौधीमाई मन्दिर, विद्यापति चोकस्थित दुर्गा मन्दिर र रामानन्द चोकका मन्दिरहरू दशैँका लागि विशेषरूपमा सजाइएका छन्। बिहानैदेखि भक्तजनहरू पूजा–अर्चनाका लागि मन्दिर पुगेका छन्।
राजदेवी मन्दिरमा नवरात्रि पूजाका सम्पूर्ण तयारी पूरा भइसकेका छन्। प्रत्येक वर्ष जस्तै यस वर्ष पनि यहाँ हजारौँको संख्यामा दर्शनार्थी आउने अपेक्षा गरिएको छ। सप्तमीदेखि अष्टमीसम्म प्रसाद चढाउने भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ।
राम युवा कमिटीले बौधीमाता, अमरखाना र अन्नपूर्णा माताका मन्दिरको पूजा व्यवस्थापन गरिरहेको छ। घटस्थापनादेखि विजयादशमीसम्म पूजा–अर्चनाका लागि आवश्यक सबै तयारी पूरा भइसकेको समितिले जनाएको छ।
राजदेवी माताको नवरात्रि अन्तर्गत घटस्थापनादेखि नवमीसम्म विशेष विधि–विधानसहित तान्त्रिक पद्धतिमा पूजा हुन्छ। यस क्रममा गणेश कलश, भैरव कलश र दुर्गा कलश स्थापना गरेर घटस्थापना गरिन्छ।





