एसपी रिपोर्टर
जनकपुरधाम, असोज ४ :
जनमत बाट कारबाहीमा परेका तथा अलग भएका नेताहरूले नयाँ राजनीतिक दल घोषणा गरेका छन्। शनिबार जनकपुरमा डा. सञ्जयकुमार साहको अध्यक्षतामा दुई दिनसम्म चलेको बैठकले ’जनस्वराज पार्टी’ गठन गरेको हो।
नयाँ पार्टी सामूहिक नेतृत्वमा सञ्चालन हुने निर्णय गरिएको छ। नेता ई. दीपक साहका अनुसार, पार्टी अध्यक्ष कसैलाई नबनाई विभिन्न विभागमार्फत जिम्मेवारी बाँडेर सञ्चालन गरिनेछ। हालै गठन भएको पार्टीले तीन विभाग बनाएको छ— राजनीतिक संगठन विभाग (ई. दीपक साह), आर्थिक विभाग (ई. सुरेन्द्रनारायण यादव) र प्रशिक्षण विभाग (डा. सञ्जयकुमार साह)। अन्य नेताहरूलाई पनि विभागीय जिम्मेवारी दिने तयारी भइरहेको छ।
ई. दीपक साह यसअघि जनमत पार्टीमा उपाध्यक्ष तथा अनुशासन समिति संयोजक थिए भने यादव कोषाध्यक्ष थिए। दुवैलाई जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले कारबाही गरी निकालेका थिए। जेनजी आन्दोलनपछि जनमतका उपाध्यक्ष अब्दुल खानसहित केही नेताहरूले पनि पार्टी छाडेका थिए। हाल उनीहरू नयाँ पार्टीमा त छैनन्, तर वार्ता भइरहेको जनस्वराजका नेताहरूले बताएका छन्।
जनस्वराज पार्टीले व्यक्तिवादभन्दा सामूहिक सहभागिता, पदभन्दा जिम्मेवारी र जवाफदेहिता, विभाजनभन्दा एकता र समानताको पक्षमा प्रतिबद्धता जनाएको छ। पार्टीको दृष्टिकोणमा “जनताले आफ्नो शासन आफैं गर्ने व्यवस्था” र “इमानदार, जवाफदेही र साझा नेतृत्व” को मार्गदर्शन उल्लेख गरिएको छ।
यसले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, पारदर्शी र भ्रष्टाचारमुक्त शासन, स्थानीय स्वायत्तता, जनताको प्रत्यक्ष सहभागितासहितको कार्यकारी राष्ट्रपति प्रणाली अवलम्बन गर्ने उद्देश्य अघि सारेको छ।





