एसपी रिपोर्टर
जनकपुरधाम, असोज ४ :
मधेस प्रदेशसभाको बैठक आगामी असोज ७ गते दिउँसो १ बजे बस्ने भएको छ। सभामुख रामचन्द्र मण्डलको अगुवाईमा आज प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकले सो मिति तोकेको हो।
संघीयतालाई लिएर विभिन्न टिप्पणी भइरहेका बेला प्रदेशसभाका सबै दलहरू संघीयताको पक्षमा एकजुट भएको सन्देश दिने उद्देश्यले बैठक बोलाइएको सभामुख मण्डलले जानकारी दिनुभयो। उहाँका अनुसार, प्रदेशसभामा रहेका सबै दलहरूले संघीयताको संरक्षण र सुदृढीकरणमा एकसाथ अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

भदौ २३ र २४ गतेको जेने–जी आन्दोलनका क्रममा प्रदेशसभा भवनमा आगजनी, तोडफोड तथा लुटपाट हुँदा करिब ३० करोड रुपैयाँ बराबरको क्षति भएको थियो। क्षति सन्दर्भमा सर्वदलीय बैठकले तत्काल सामान्य मर्मत गरी प्लास्टिकका कुर्सीमा बैठक सञ्चालन गर्ने सहमति पनि गरेको छ।
बैठकमा मुख्यमन्त्री सतिश कुमार सिंह, सभामुख मण्डल, प्रमुख सचेतकहरू तथा विभिन्न राजनीतिक दलका नेताहरू सहभागी रहेका थिए।