एसपी रिपोर्टर
जनकपुरधाम, असोज ३ :
नेकपा एमालेका सचिव रघुवीर महासेठले जेनजी आन्दोलनलाई देशी तथा विदेशी शक्तिहरूले योजनाबद्ध षड्यन्त्रमार्फत हिंसक बनाएको आरोप लगाएका छन् ।
गृहनगर जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै उनले आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड र लुटपाटमा जेनजी युवाहरू प्रत्यक्ष संलग्न नभएको दाबी गरे ।

उनका अनुसार, जेनजी युवाहरूले भ्रष्टाचार अन्त्य, सुशासन र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनेजस्ता न्यायसंगत माग उठाएका थिए, तर आन्दोलनलाई सत्ता परिवर्तन र निजी सम्पत्तिमा क्षति पुर्याउने दिशामा मोड्ने प्रयास गरिएको थियो ।
महासेठले देशी–विदेशी शक्तिहरू सक्रिय भई आन्दोलनलाई हिंसात्मक बनाएको र ‘स्नाइपर शुटर’ प्रयोग गरी युवाहरूको हत्या गराएको आरोप लगाए । उनले अन्तरिम सरकारलाई गम्भीर छानबिन गरी षड्यन्त्रमा संलग्न शक्तिहरूलाई कडाभन्दा कडा कारबाही गर्न माग गरे ।

उनले एमाले र नेपाली कांग्रेसका नेताहरूका घर समेत लक्षित गरेर जलाइएको, साथै व्यक्तिगत रिसिइवीसमेत साधिएको आरोप लगाउँदै वास्तविक दोषी पहिचान गर्ने आवश्यकतामाथि जोड दिए ।