एसपी रिपोर्टर
जनकपुरधाम, असोज २ :
जेनजी नेपालले वर्तमान सरकारमा आफ्नो सङ्गठनको ५० प्रतिशत सहभागिता सुनिश्चित गर्न माग गरेको छ।
जेस्मिन ओझाको नेतृत्वमा गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट्न पुगेका जेनजी प्रतिनिधिहरूले सात बुँदे प्रस्ताव राख्दै मन्त्रालयदेखि सरकार सञ्चालनसम्म जेनजीको नेतृत्व समावेश हुनुपर्ने अडान राखेका हुन्।

प्रस्तावमा सरकारको उच्चस्तरीय सल्लाहकारमा जेनजी प्रतिनिधिको अनिवार्य सहभागिता, संवैधानिक आयोग र राजदूत नियुक्तिमा ५० प्रतिशत प्रतिनिधित्व, नेपाल सरकारको मुख्य सचिव तथा सचिवालयमा समेत जेनजीको सहभागिता माग गरिएको छ।
त्यस्तै, जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ), स्थानीय तहका कार्यकारी प्रमुख तथा लेखापाल, भन्सार, मालपोत र न्यायालयका प्रमुख पदहरूमा समेत जेनजीको सिफारिसअनुसार नियुक्ति हुनुपर्ने माग गरिएको छ। साथै, जिल्ला समन्वय समितिलाई तत्काल खारेज गर्नुपर्ने अडान पनि राखिएको छ। प्रधानमन्त्री सुशीला कार्कीले ११ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने घोषणा गरिसकेकी छिन्। हालसम्म तीन मन्त्री मात्र नियुक्त भएका छन्।






