एसपी रिपोर्टर
जनकपुरधाम, असोज २ :
संघीय लोकतान्त्रिक मोर्चाले नयाँ संविधान २०७२ जारी भएको दिन असोज ३ लाई यस वर्ष पनि ‘कालो दिन’का रूपमा मनाउने भएको छ।
मोर्चाका केन्द्रीय सचिवालय संयोजक डा. शिवजी यादवले बिहीबार एक विज्ञप्ति जारी गर्दै संविधान जारी भएको दिनलाई कालोपट्टी बाँधी प्रदर्शन गर्ने, विरोधसभा गर्ने लगायतका कार्यक्रम गर्ने निर्णय भएको जानकारी दिएका छन्।
विज्ञप्तिमा संविधान जारी गर्ने क्रममा मधेशको असहमति हुँदाहुँदै राज्यले दमन गरेको, मधेशी जनतामाथि गोली प्रहार गरी जबर्जस्ती एकतर्फी संविधान लादिएको भन्दै त्यस दिनलाई शोकका रूपमा मनाइँदै आएको उल्लेख गरिएको छ। संविधान अपूर्ण र अधुरो रहेको भन्दै यसको पुनर्लेखन, संशोधन र परिमार्जनको माग मोर्चाले दोहोर्‍याएको छ।
त्यस्तै, भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा अराजक तत्वले विभिन्न राजनीतिक दलका कार्यालय, राष्ट्रपति भवन, व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका लगायतका संरचनामा क्षति पुर्‍याएको भन्दै घटनामा संलग्नलाई छानबिन गरी कारबाही गर्न तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरिएको छ।