एसपी रिपोर्टर
जनकपुरधाम, असोज १ :
गत भदौ २३ र २४ गते ‘जेनजी आन्दोलन’का क्रममा ज्यान गुमाएका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै तथा देशमा शान्ति–सुव्यवस्था कायम होस् भन्ने कामना सहित बुधबार जनकपुरधाममा शान्ति ¥याली निकालिएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयको आयोजनामा भएको सो ¥याली रामानन्द चोकबाट सुरु भई नगरका विभिन्न भाग परिक्रमा गर्दै जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा मानव अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

राष्ट्रिय मानव अधिकार आयोग मधेशका प्रमुख बुद्धनारायण सहनीले आन्दोलनपछि पनि कतिपय नागरिक त्रासमा रहेको स्मरण गराउँदै अमन–चयन र शान्तिको सन्देश देशभर फैलाउने उद्देश्यले ¥याली आयोजना गरिएको बताए । कोणसभामा वक्ताहरूले शहीद आत्माको चीर शान्तिको कामना गर्दै मुलुकमा शान्ति, न्याय र मानव अधिकारको सम्मान सुनिश्चित गर्न राज्य जिम्मेवार बन्नुपर्नेमा जोड दिए । उनीहरूले हिंसा र दमनबाट समस्या समाधान नहुने उल्लेख गर्दै वार्ता, सहमति र संवैधानिक अभ्यासमार्फत समाधान खोज्न आग्रह गरे ।

आयोगका प्रतिनिधिहरूले शान्तिपूर्ण आन्दोलन नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै सुरक्षाकर्मी तथा राज्य संयन्त्रले नागरिकको जीवनरक्षा र अधिकारको सम्मानलाई प्राथमिकता दिनुपर्ने धारणा राखे । सो अवसरमा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह, उपाध्यक्ष अवधेश कामत, वरिष्ठ पत्रकार रामभरत साह, अविक्ता राजकुमार महासेठ, रेखा झा, ईन्सेक मधेश प्रदेशका प्रमुख राजु पासवान, दलित तथा मानवअधिकार अभियानी विनोद महरा सहितको उपस्थिती थियो ।