एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ३१ :
नेपालीहरुको महान पर्व विजयादशमी सुरु हुन केही दिन मात्रै बाँकी रहँदा जनकपुरधाममा तयारी तिव्र पारिएको छ। पर्वलाई भव्य बनाउन स्थानीय युवा क्लबहरु दिनरात खटिरहेका छन्।
जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरसहित विभिन्न स्थानमा शक्तिस्वरुपा माता दुर्गाको पूजा–आराधनाको तयारी भइरहेको छ। पूजा स्थलहरूमा आकर्षक पण्डाल, रंगीन बल्बको सजावट र सरसफाइका काम भइरहेको छ।

महावीर युवा कमिटीका अध्यक्ष दीपककुमार साहका अनुसार, यस वर्षको दशैं जेनजी आन्दोलनपछिको परिस्थितिले केही प्रभावित हुने देखिन्छ। आन्दोलनका कारण बजार केही दिन बन्द रहनुपरेको र अहिले बजारमा पहिले जस्तो रौनक नदेखिएकाले चन्दा संकलनमा कठिनाइ हुने उनको भनाइ छ।

तर, राम युवा कमिटीका महासचिव विजय साह भने दशैं मेलाको रौनकतामा कुनै कमी नआउने दाबी गर्छन्। उनका अनुसार, आन्दोलनपछिको प्रभाव चन्दा संकलनमा देखिए पनि पूजाआजाको भव्यतामा असर पर्न दिने छैन।
प्रत्येक वर्ष दर्जनौँ स्थानमा विजयादशमीको मेला लाग्ने जनकपुरधाममा यस वर्ष पनि परम्परा निरन्तरता पाउनेछ। राजदेवी मन्दिर, बौधीमाई मन्दिर, विद्यापति चोक, रामानन्द चोक, भ्रमरपुरा चोकलगायतका स्थानमा प्रतिमा स्थापना गरी मेलाको आयोजना हुँदै आएको छ।






