एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ३० :
राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर सोमबार नवनियुक्त तीन मन्त्रीहरूले शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।
जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि शीतल निवास बस्न अयोग्य अवस्थामा पुगेको थियो । त्यसैले गत शुक्रबार प्रधानमन्त्री कार्कीको शपथ ग्रहण समारोह राष्ट्रपति निवासभित्रै सम्पन्न भएको थियो ।

शपथ समारोहमा सरकारी निकायका उच्च पदाधिकारी तथा कूटनीतिक नियोगका प्रमुखहरू समेत उपस्थित थिए । अर्थमन्त्रीको जिम्मेवारी रामेश्वर खनाललाई दिइएको छ भने कुलमान घिसिङले ऊर्जा, भौतिक योजना र सहरी विकास मन्त्रालय सम्हाल्ने भएका छन् । त्यस्तै, ओमप्रकाश अर्याललाई गृह तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । घिसिङले तीन मन्त्रालय र अर्यालले दुई मन्त्रालय एकैसाथ सम्हाल्ने भएका छन् ।





