एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २७ :

जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारी युवाहरुको निशानामा देशभरी सरकारी कार्यालय तथा प्रतिष्ठानहरु परे । देशैभरी विभिन्न मन्त्रालय, प्रदेशसभाका साथै प्रतिनिधिसभा र सिंहदरबारमा समेत तोडफोड तथा आगजनी भयो । आन्दोलनकै क्रममा युवाहरुले विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुको घरमा आगजनी तथा तोडफोड गरे । यसै क्रममा धनुषामा पनि विभिन्न नेताका घरमा आगजनी तोडफोड भयो ।

जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारी युवाहरुले एमाले सचिव रघुवीर महासेठ जनकपुरधाम स्थित रहेको घरमा आगजनी गरे । आगजनीबाट महासेठको घर पूर्णरुपमा जलेको छ । त्यस्तै कांग्रेस नेता विमलेन्द्र निधिको जनकपुरधामस्थित मिल्स एरियामा रहेको घरमा आगजनी तथा तोडफोड गरेका हुन् ।

जनकपुरधाममै महोत्तरी २(ख)की प्रदेशसभा सदस्य सुरिता साहको घरमा प्रदर्शनकारीहरुले तोडफोड गरे । साह चढ्दै आएको गाडीका साथै ३ वटा मोटरसाइकल बाहिर निकालेर प्रदर्शनकारी युवाहरुले आगजनी गरेका थिए ।

कांग्रेस नेता शेषनारायण यादवको पिडारीमा रहेको घरमा समेत आगजनी गरिएको थियो । आगजनीबाट उहाँको घर पूर्णरुपमा जलेको छ । यता प्रदेशसभा सदस्य रामअशिष यादवको घरमा आन्दोलनकै नाममा लुटपाट समेत भएको छ । लुटपाटकै क्रममा उहाँको घरमा आगजनी गरिएपनि समयमै निभाइएका कारण घरमा क्षति पुग्न सकेन ।