एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २३ :
अगामी असोज २ र ३ गते धनुषा जिल्ला मिथिला विहारी नगरपालिकाको मिथिलेश्वर मौवाही स्थित कल्चर भिलेजमामा तेस्रो सर्प महोत्सवको आयोजना हुदैछ ।

सेभ द लिवस सोसाईटी तथा मिथिला वाईल्डलाईफ ट्रष्टको आयोजनामा हुन गइरहेको सो महोत्सवमा सर्प र त्यसको प्रजाति बारे वृहत जानकारी, सर्पको टोकाई बाट बच्न तथा टोकि सकेपछिको प्राथमिक उपचार तथा सर्प पक्रन अपनाइने विधिहरु सहितका जानकारी र प्रस्तुती हुने ट्रष्टका अध्यक्ष देव नारायण मण्डलले जानकारी दिएका छन् ।

सर्पको संरक्षक गर्नुपर्छ, सर्पले किन टोक्छ, सर्प र मानव बिचको सौहाद्रता र अपनत्व कसरी बढछ, सर्प सहितका जिवहरुको पनि बाँच्न पाउने अधिकार छ र यिनलाई कसरी वातावरण मैत्री बनाउने भन्ने ज्ञान मुलक आयोजन समेत रहेकाले सहभागिताका लागि सोसाइटीका अध्यक्ष कमल देवकोटाले आग्रह गरेका छन् ।

नेपालमा हाल सम्म ८४ जातीको सर्पहरू देखा परेको जानकारी गराउदै आयोजकले आफुहरु हाल सम्म पाँच हजार करिव सर्पको उद्दार गरेको बताउछन् । ति ८४ मध्ये करिव २० अर्थात १८ प्रतिशत सर्पमात्र विषालु भेटिएको उनीहरुको दावी छ ।

सो अवसरमा सो महोत्सवको ब्यानर अनावरण गर्दै नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष पुरन साहले आयोजनको सराहना गर्दै मधेशमा सर्प र मानव वीचको शत्रुता अन्त्य गर्न र सर्प बारेको कथित भ्रम अन्त्य गर्दै वृहत जानकारी मुलक आयोजना सावित हुने बताए । सो अवसरमा सर्प विशेषज्ञ सुवोध आचार्य सहितको उपस्थिती थियो ।

यस अघि यो महोत्सव तिलोत्तमा र कावासोती नगरपालिकाहरुमा सम्पन्न भइसकेको छ ।