एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १९ :
राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस स्वतन्त्रता तथा प्रजातन्त्र सेनानी स्वर्गीय राजेश्वर नेपालीलाई एक स्वतन्त्र अभियन्ता र दृढ निश्चयवादी व्यक्तित्वका रूपमा स्मरण गरेका छन् ।
स्वर्गीय नेपालीको ८३ औँ जन्मजयन्तीका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित ‘महामना राजेश्वर नेपाली अभिनन्दन ग्रन्थ’ को लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालीलाई आफ्ना राजनीतिक सहकर्मी तथा सहयोध्दा भन्दै उच्च विचारका स्वतन्त्र अभियन्ता, पत्रकार र साहित्यकारको रूपमा उल्लेख गरे । उहाँले नेपालीले संघीयता, लोकतन्त्र र स्वतन्त्रताको पहरेदार बनेर कलम र साहित्यमार्फत देशका हरेक आन्दोलनमा योगदान पुर्‍याएको स्मरण गरे ।


कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले स्वर्गीय नेपालीलाई नेपालमा संघीयताको पक्षमा पहिलोपटक बोल्ने व्यक्तिका रूपमा स्मरण गरे । उनले २०४४ सालमै पाँच प्रदेशको अवधारणासहित संघीयताको खाका प्रस्तुत गरेको उल्लेख गर्दै कांग्रेसले आज संघीयता उपभोग गरे पनि नेपालीलाई उचित सम्मान गर्न चुकेको आरोप लगाए ।
मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले नेपालीलाई देश र मधेस दुवैको आवाज उठाउने पत्रकार तथा साहित्यकारको रूपमा स्मरण गरे । उनले धोती–कुर्ता र नाममा ‘नेपाली’ जोडेर आफ्नो पहिचानमार्फत देश र मधेसलाई सम्मान गरेको बताए ।

त्यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा प्रदेश सांसद जितेन्द्र सोनलले नेपालीलाई एक व्यक्तिमा अनेक व्यक्तित्व समेट्ने अभियन्ता भन्दै कांग्रेसको लामो यात्रामा रहे पनि जनताको पक्षमा सदैव स्वतन्त्र रूपमा खटिएको उल्लेख गरे ।
रविन्द्र शाह स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा स्वर्गीय नेपालीको प्रतिमामा पुष्प अर्पण गरिएको थियो । त्यही अवसरमा राष्ट्रपति पौडेलले छ भाषामा प्रकाशित १३ पृष्ठ लामो अभिनन्दन ग्रन्थ लोकार्पण गरे ।

कार्यक्रममा विभिन्न दलका प्रतिनिधिसभा सदस्य, संविधानसभा सदस्य, प्रदेशसभा सदस्य, साहित्यकार, पत्रकार, कलाकार र सर्जकहरूको बाक्लो उपस्थिति थियो । जनकपुरका पत्रकारहरू समेत कार्यक्रममा सहभागी हुन काठमाडौं पुगेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा जनकपुरधाम उपमहानगरपालिका–२३ का अध्यक्षसमेत रहेका स्वर्गीय नेपालीका सुपुत्र राघवेन्द्र शाहले राष्ट्रपति पौडेललाई स्वर्गीय नेपालीका सहकर्मी सहयोध्दा भन्दै सम्मानपत्र प्रदान गरेका थिए ।