एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १७ :
महोत्तरीको सदरमुकाम जलेश्वरका विभिन्न विद्यालयमा एसईई उत्तीर्ण छात्राहरुलाई नेपाल–भारत मैत्री युवा संघले साइकल वितरण गरेको छ।

संघले पछिल्ला दिनहरुमा जलेश्वर नगरपालिकाभित्रका विद्यालयहरुमा अध्ययनरत छात्राहरुलाई ‘उडान कार्यक्रम’ अन्तर्गत साइकल वितरण गर्दै आएको छ। छोरीहरुलाई पढाउन अभिभावकलाई प्रेरित गर्ने उद्देश्यले गरिएको यस कार्यक्रममा वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दूत देवी सहाय मिनाले यस्ता कार्यलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

यसै क्रममा महेन्द्र महिला आदर्श मावि जलेश्वरका १२, लक्ष्मी चण्डी मुरारका माविका २० र जानकी परिक्षण मावि परिकौलीकी ८ छात्रालाई साइकल वितरण गरिएको हो। बाँकी विद्यालयका छात्राहरुलाई पनि क्रमशः वितरण गरिने नेपाल–भारत मैत्री युवा संघका केन्द्रीय महासचिव कृष्णा सिंहले जानकारी दिनुभयो। उहाँका अनुसार यो अभियानले अभिभावकमा छोरीलाई पनि उच्च शिक्षा दिलाउनुपर्ने भावना थप सशक्त हुने विश्वास लिएको छ।