एसपी रिपोर्टर
जनकपुरधाम , भदौ १६ :
विराटनगरमा आयोजित जागरण अभियानलाई सम्बोधन गर्दै सङ्घीय लोकतान्त्रिक मोर्चामा आवद्ध दलका शीर्ष नेताहरूले मधेशी, थारु, आदिवासी जनजाति, दलित र पिछडावर्गका अधिकारका लागि एकजुट भएर सामूहिक संघर्ष गर्नुपर्ने निष्कर्ष निकालेका छन्।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा एउटै पार्टीमा रहेका नेताहरू विभाजनपछि फेरि मोर्चा बनाउनुपरेको उल्लेख गर्दै उत्पीडित समुदायहरूको पहिचान र स्वायत्तताको माग पूरा गर्न सामूहिक संघर्ष अपरिहार्य भएको बताए।
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले विगतका छुट्टाछुट्टै संघर्ष असफल भएको भन्दै अब अधिकार र पहिचानका लागि एकजुट हुनैपर्ने बताए। उनले मधेसी, थारु, आदिवासी जनजाति र दलितलाई नश्लीय शासन सत्ताबाट मुक्त गर्न राष्ट्रिय मुक्ति आन्दोलन अपरिहार्य भएको स्पष्ट पारे।

लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले आन्दोलनमा सहभागी कार्यकर्तामाथि लगाइएका झुटा मुद्दाको विरोध गर्दै सरकारको कदमको आलोचना गरे। उनले मधेश शब्दको मान्यता र गणतन्त्र स्थापना आन्दोलनकै उपलब्धि भएको उल्लेख गर्दै उखु किसानप्रति बेवास्ता, खानेपानी अभाव र हैजा फैलिनुजस्ता समस्यामा सरकार गम्भीर नभएको आरोप लगाए। जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले राज्य जनताको हातमा हुनुपर्ने र विभाजित मधेसी समाज एक हुनुपर्ने आवश्यकता औंल्याए।

राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशव झाले संविधान संशोधनको पक्षमा जनमत तयार गर्ने, आन्दोलनकारीमाथिका मुद्दा खारेज गर्ने, भूमि विधेयकको विरोध गर्ने र भ्रष्टाचारविरुद्ध मोर्चा एकजुट हुनुपर्नेमा जोड दिए। तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले संविधान संशोधनमार्फत समावेशिता, समानुपातिक निर्वाचन प्रणाली र अधिकार सुनिश्चित गर्नुपर्ने धारणा राखे।





