एसपी रिपोर्टर
जनकपुरधाम , भदौ १६ :
जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा दुई समुदायबीच उत्पन्न विवाद समाधानका लागि सर्वपक्षीय सहमति जुटेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहका अनुसार भदौ १४ र १५ गतेका घटनामा संलग्न व्यक्तिहरूलाई पहिचान गरी कानुनी कारबाही अघि बढाइने सहमति भएको हो। साथै, धार्मिक वा सामाजिक सद्भावमा खलल पु¥याउने कुनै पनि गतिविधि नगर्ने र त्यस्तो कार्य गर्न खोज्नेहरूमाथि सूक्ष्म निगरानी गरी कानुनी प्रक्रिया अघि बढाइने निर्णय बैठकले गरेको छ।
राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, दुवै धार्मिक समुदायका अगुवा तथा सुरक्षाकर्मी सहभागी सर्वपक्षीय बैठकले विगतमा तेलिया पोखरी क्षेत्रमा देखिएका विवादलाई समेत व्यवस्थित गर्ने सहमति गरेको छ।

गत शनिबार गणेश पूजाको मूर्ति विसर्जनपछि फर्कँदै गरेका हिन्दू समुदायका युवाले झण्डाचोकमा रहेको टावरलाइट पोलमा बाँधिएको हरियो झण्डा हटाउन खोज्दा विवाद सुरु भएको थियो। त्यसक्रममा झडप बढेपछि प्रहरीले अवस्था नियन्त्रणमा लिन ११ सेल अश्रुग्यास प्रयोग गरेको थियो।
भोलिपल्ट दुवै समुदायले लगाएका झण्डा हटाउन खोज्दा पुनः तनाव उत्पन्न भएपछि प्रहरीले ३० राउन्ड हवाई फायर र ३१ सेल अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा ल्याएको थियो। सो घटनामा स्थानीय २९ वर्षीय लक्ष्मण मुखियाको दुवै खुट्टामा गोली लागेर घाइते भएका थिए भने ढुंगामुढामा सात जना प्रहरी घाइते भएका थिए।





