एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १५ :
नेपाली पत्रकारिताको प्रतिमूर्ति, सुरुवाती साक्षीपात्र, प्रेस स्वतन्त्रता तथा प्रजातन्त्र सेनानी स्व. राजेश्वर नेपालीको अभिनन्दन ग्रन्थको लोकार्पण नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने भएको छ । विभिन्न छ भाषामा लेखिएको १३ सय पृष्ठको ग्रन्थको स्व. नेपालीको जन्म जयन्ती भदौ १९ गतेको अवसरमा राष्ट्रपति भवन शितल निवास काठमाण्डौंमा हुने तय भएको छ ।

प्रमुख आतिथ्यता सहित लोकार्पण प्रस्ताव लिएर राष्ट्रपति भवन पुगेका स्व. नेपालीका सुपुत्र जनकपुरधाम वडा नं. २३ का वडा अध्यक्ष राघवेन्द्र साहले राष्ट्रपति भवनमा लोकार्पण तय भएको बताएका छन् । भेटघाटमा मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादवको पनि सहभागिता थियो । स्व. राजेश्वर नेपाली धनुषा र जनकपुरको मात्र नभई प्रजातन्त्रका लागि देशको विभिन्न आन्दोलन र संघर्षमा आफुहरु संगै जेलनेल बसेका मित्र समेत भएकाले उहाँको अभिनन्दन ग्रन्थ लोकार्पणको अवसर आफना लागि पनि हर्षको विषय भएकोे राष्ट्रपतिको भनाई उदृत गर्दै साहले बताए ।

आफनो जिवन प्रखर पत्रकार, लोकतन्त्रको पहरेदार तथा भाषा र साहित्यका अभियन्ताका रुपमा व्यतित गरेका नेपालीको २०८० भदौ १२ गते देहावसान भएको थियो । उहाँले आफनो जीवनकालमै सो ग्रन्थ सार्वजानिक गर्ने प्रण गरेपनि ग्रन्थ अन्तिम चरणमा रहेका वेला अचानक अस्वस्थ्य भई उहाँको निधन भएको थियो । नेपाल पत्रकार संघ/महासंघको स्थापना देखिका साक्षी स्व. नेपाली नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको पनि एकदमै निकट र स्नेही हुनुहुन्थ्यो । नेपाल पत्रकार महासंघले महासंघ धनुषा शाखाका सदस्य उहाँलाई प्रेस स्वतन्त्रता सेनानी सम्मानबाट सम्मानित गरेको थियो ।