एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १३ :
कलवार समुदायको कूल देवता भगवान बलभद्रको भव्य पूजा अराधना गरी बलभद्र जयन्ती सम्पन्न भएको छ ।
जनकपुधामस्थित व्याहुत कलवार सेवा समितिको आयोजनामा बलभद्र भगवानको पूजा अराधना गरी बलभद्र जयन्ती मनाइएको हो । प्रत्येक वर्ष भदौ शुक्ल षष्ठी तिथिका दिन बलभद्र जयन्ती मनाउने परम्परा रहेको छ ।

जनकपुरधामस्थित बलभद्र मन्दिरमा भक्तजनहरुको मन्दिरमा दिनभरि घुइँचो लागेका थियो भने पूजा भव्यता पूर्वक मनाइएको छ । यसअघि आजै भव्य कलश यात्रा समेत निकालिएको थियो ।
कलश यात्रामा व्याहुत कलवार सेवा समितिका पदाधिकारी, जनकपुरधाम उद्योग वाणिज्य संघ लगायत विभिन्न युवा क्लवहरुको प्रतिनिधि तथा स्थानीयसहित जनकपुरधाम नगर क्षेत्रमा कलश यात्रा निकालेको थियो ।

व्याहुत कलवार सेवा समिति जनकपुरधामले बलभद्र जयन्तीको अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको समितिका अध्यक्ष श्याम साहले जानकारी दिए । बलभद्र जयन्तीको अवसरमा मानव सेवा आश्रममा भोजन दान, रक्तदान, दौड प्रतियोगिता, चित्रकला प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता लगायतका कार्यक्रमहरु राखिएको उनले जानकारी दिए ।

भगवान कृष्णको दाई भगवान बलरामलाई बलभद्र भगवानको रुपमा चिनिन्छ । बललाई शक्ति र भद्रलाई अन्नको रुपमा परिभाषित गरिन्छ । बलभद्र भगवानलाई भात, विशेष किसिमको दाल र पाँच थरीको तरकारीको भोग लगाउने प्रचलन रहेको छ । भगवानको पूजा पश्चात सो अन्नलाई कलवार समुदायका भक्तजनहरुले प्रसादको रुपमा ग्रहण गर्ने प्रचलन रहेको छ ।






