एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १२ : नेपाली पत्रकारिताका धरोहर, लोकतन्त्र र गणतन्त्रका पक्षधर प्रखर वक्ताका साथै वरिष्ठ पत्रकार, प्रेस स्वतन्त्रता तथा प्रजातन्त्र सेनानी स्व. राजेश्वर नेपालीको दोस्रो स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । स्व. नेपालीको गृह वडा जनकपुरधामको वडा नं. २३ बेला स्थित दुद्यमती पुलमा यस वर्ष वृक्षारोपण तथा हरलिक्स वितरण गरि उहाँलाई स्मरण गरिएको छ ।
सो अवसरमा बोल्दै मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल, मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादव तथा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहले स्व नेपालीलाई स्मरण गर्दै उहाँको सम्मानमा पत्रकार जगत र सम्बन्धित निकाय र राज्य पनि विभिन्न सान्दर्भिक गतिविधिहरु गर्न आवश्यक रहेको बताए ।

स्व. नेपालीका सुपुत्र वडा अध्यक्ष तथा पुर्व पत्रकार राघवेन्द्र साहको अगुवाईमा भएको कार्यक्रममा करिव एक दर्जन विभिन्न प्रजातिका विरुवाहरु रोपिएको छ । समाज, मधेश र देशका लागि सधै चिन्तनशील स्व. नेपालीको योगदान र भुमिको शब्दमा बखान गर्न नसकिने भन्दै वक्ताहरुले धरोहरको सम्मानमा सन्तति चुक्न नहुने बताए । विहिवारै नेपाल पत्रकार महासंघ धनुषा शाखाले स्व. नेपालीको श्रद्धाञ्जलीमा एक मिनेट मौन धारण बाट कार्यसमितिको बैठक आरम्भ गर्दै उहाँको सम्मानमा स्मृति दिवसमा हरेक वर्ष विभिन्न कार्यक्रम गर्ने सर्वसम्मत निर्णय गरेको महासंघ धनुषाका अध्यक्ष साहले बताए ।






