एसपी रिपोर्टर
जनकपुरधाम , भदौ ९ :
नेपाल र भारतबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन “भारत–नेपाल आर्थिक साझेदारी सम्मेलन २०२५” वीरगञ्जस्थित सम्पन्न भएको छ । सम्मेलनको आयोजना PHDCCI India-Nepal Centre ले भारतको महावाणिज्य दूतावास, वीरगञ्ज, नेपाल–भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री वीरगञ्ज च्याप्टर र नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल, मधेश प्रदेशको सहकार्यमा गरिएको थियो ।
कार्यक्रममा नेपाल र भारतका उद्योगपति, व्यापारी तथा भारतको बिहार राज्यका चेम्बर प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
सम्मेलनमा भारतका महावाणिज्यदूत देबीसहाई मीनाले दुई देशबीचको आर्थिक साझेदारीलाई थप सबल बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले भारतको तीव्र आर्थिक प्रगतिबाट नेपालका व्यवसायीहरू लाभान्वित हुन सक्ने अवसरहरूबारे प्रकाश पार्दै भने, ‘भारत–नेपाल आर्थिक साझेदारी सम्मेलन २०२५ दुवै मुलुकबीच व्यापार र लगानी वातावरण सुधार्न महत्वपूर्ण प्लेटफर्म बन्नेछ ।’

मधेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन प्रसाद साहले नेपालको वास्तविक आर्थिक रूपान्तरणका लागि भारतीय लगानीलाई प्राथमिकताका साथ आकर्षित गर्नुपर्ने बताए । उनले पर्यटन, खाद्य प्रशोधन, नवीकरणीय ऊर्जा जस्ता क्षेत्रमा लगानी बढाउन प्रदेश सरकारले पहल गरिरहेको जानकारी दिए ।
नेपाल–भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री वीरगञ्ज च्याप्टरका अध्यक्ष अभिषेक चौधरीले नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक र भौगोलिक निकटता आर्थिक सहकार्यका लागि बलियो आधार भएको उल्लेख गर्दै व्यापार घाटाभन्दा पर गएर दुवैलाई फाइदा हुने अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए ।
पीएचडीसीसीआइ भारत–नेपाल केन्द्रका सचिव अतुल ठाकुरले हालै सम्पन्न उच्चस्तरीय द्विपक्षीय भेटवार्ताबाट हासिल उपलब्धिहरू प्रस्तुत गर्दै सडक, रेलमार्ग, इन्टिग्रेटेड चेकपोस्ट, पेट्रोलियम पाइपलाइन, डिजिटल भुक्तानी प्रणाली लगायतका परियोजनाबाट नेपाल–भारत सम्बन्ध नयाँ चरणमा पुगेको बताए ।
सम्मेलनमा एफएनसीसीआई मधेशका अध्यक्ष अशोक तेमानी, बीसीसीआईका अध्यक्ष हरि गौतम, नाडा मधेश प्रदेश अध्यक्ष केदारकुमार अग्रवाल, बिहारका चेम्बर प्रतिनिधि तथा नेपाल–भारतका प्रतिष्ठित उद्योगी–व्यवसायीहरूको सहभागिता रहेको थियो ।