एसपी रिपोर्टर
जनकपुरधाम , भदौ ९ :
प्रदेश सुरक्षा समितिको जनकपुरधाममा बसेको बैठकबाट पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा फैलिएको हैजा नियन्त्रणकालागि सुरक्षा सजगता बढाउने निर्णय गरेको छ ।
प्रदेश सुरक्षा समितिका अध्यक्ष एवं मधेशका गृह सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीको अध्यक्षतामा बसेको बैठकले हैजाको सङ्क्रमण अन्य जिल्लामा फैलिन नदिनका लागि सुरक्षा सजगता अपनाउने निर्णय गरिएको बताउनुभयो ।
यसका साथै महामारी नियन्त्रणका लागि खानेपानी तथा स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरेर ढल तथा खानेपानीको पाइप मिसिएको ठाउँको खोजी तथा मरम्मतका लागि आवश्यक परेको खण्डमा सम्बन्धित निकायसँग सुरक्षा निकायले सहकार्य गर्ने निर्णय भएको मन्त्री लेखीले जानकारी दिनुभयो ।
हैजा नियन्त्रणका लागि परिचालन भएका स्वास्थ्य तथा अन्य कर्मचारीलाई सुरक्षा निकायका तर्फबाट सबै प्रकारको सहयोग गर्ने निर्णय प्रदेश सुरक्षा समितिबाट भएको छ । खानेपानी तथा ढलको पानी मिसिएका कारणले नै हैजा फैलिएको विषयमा सुरक्षा बैठकमा सुरक्षा निकायबाट रिपोर्टिङ भएको गृहमन्त्री लेखीले जानकारी दिनुभयो ।
बैठकमा गौर घटनाका विषयमा सर्वोच्च अदालतबाट भएको परमादेश र त्यसपछि विभिन्न ठाउँमा सुरु भएको विरोध प्रदर्शन सहितको विषयमा गम्भीर समीक्षा गर्नुका साथै वर्तमान अवस्थामा जिल्ला जिल्लामा सुरु भएको प्रदर्शनले सुरक्षामा पर्न सक्ने प्रभावका विषयमा गम्भिर समीक्षा भएको गृहमन्त्रीले जानकारी दिनुभयो ।
सुरक्षा बैठकमा गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमल बराल, नेपाल प्रहरीका प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमाप्रसाद चतुर्वेदी, सशस्त्र प्रहरीका नायव महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा नेपाली सेनाका मधेश प्रदेश प्रमुखको सहभागिता रहेको थियो ।