काठमाडौं , भदौ ९ :
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले हैजाका बिरामीको उपचारमा सरकारले कुनै पनि प्रकारको अभाव हुन नदिने गरी काम गरिरहेको बताएका छन् ।
सोमबार हैजा प्रभावित क्षेत्र वीरगञ्जको स्थलगत अनुमगनका लागि पुगेका मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
बिरामीको उपचारमा कुनै पनि प्रकारको अभाव र समस्या हुने स्थिति बन्न नदिनका लागि तिनै तहका सरकारले प्रयत्न गरिरहेको उनले बताए ।
सरकारले प्राइभेट अस्पतालहरूलाई पनि किट उपलब्ध गराएर उपचारमा सहजता ल्याउने विषयमा हिजो बेलुका निर्णय भइसकेको भन्दै उनले हैजाका बिरामी उपचार भइरहेको तराई अस्पतालमा पुगेर यसबारेमा परामर्श गर्ने बताए ।
उनले भने, ‘अन्यत्र कहाँ–कहाँ बिरामी हुनुहुन्छ, उहाँहरु”सँग पनि त्यहाँको प्रशासनसँग म टेलिफोनमा कुरा गर्छु । कुरा गरेर उहाँहर”लाई किट हामी उपलब्ध गराउँछौं । अन्य औषधिहरु”को सन्दर्भमा पनि हामीले औषधि उपलब्ध गराउँदा उहाँहरूले उपचारमा न्यून कस्ट लिने र केही सुविधा उहाँहरूले पनि दिने अवस्था बन्छ भने हामी त्यसको लागि छलफल गर्छौं । यो खासगरी मानवीयताको कुरा पनि हो । अस्पतालहरूलाई पनि अनुरोध गर्न चाहन्छौं । यो विपतको कुरा पनि हो ।’
विपद्को बेलामा सबैले सहयोग गर्नुपर्ने उनको भनाइ थियो । निजी अस्पतालहरूले पनि मानवीयतालाई ख्याल गरेर सहयोग गर्न उनको आग्रह थियो ।
उनले अगाडि भने, ‘उहाँहरूलाई प्रत्यक्ष रूपमा पनि अनुरोध गर्नेछौं। आज म मिडिया मार्फत उहाँहरूलाई विनम्रता पूर्वक अनुरोध गर्दछु । उहाँहरूले यही समाजमा काम गरिरहनु भएको छ । यही समाजमा सेवा पुर्याइरहनु भएको छ । यस्तो विपतको बेलामा सरकारको आँखा मात्रै सरकार तिर ताकेर होइन कि नागरिक तहबाट, व्यवसायीहरूको तहबाट, प्राइभेट सेक्टर, सामुदायिक सेक्टरको तहबाट पनि सबैले सहयोग पुर्याउन सक्नु पर्छ ।’
महामारीको यस्तो बेलामा स्वयंसेवीको आवश्यकता पर्ने भन्दै उनले यस्तै समयमा समाजलाई योगदान गरेर सेवा गर्ने एउटा अवसर पनि भएको उनले बताए ।
हैजाको प्रकोप फैलिनुका कारण पत्ता लगाउनका निम्ति टिमले काम गरिरहेको उनले बताए ।