एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ६ :
नेकपा एमालेका सचिव एवं पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले ढल्केवर–जनकपुर–जटही सडकखण्डमा विद्युतिकरणको उदघाटन गरेका छन् । शुक्रबार साँझ एक कार्यक्रमका बीच एमाले सचिव महासेठ सो सडक खण्डमा विद्युतिकरणको उदघाटन गरेका हुन् । महासेठले ढल्केवर–जनकपुर–जटही सडकखण्डमा बल्वहरु जडान गरिएपछि रात परेपछि पनि यात्रुलाई आवागमन गर्न सहज हुने विश्वास व्यक्त गरे ।

सुरक्षाको दृष्टिले पनि यो उपयुक्त रहेको उनको भनाई थियो । जनकपुरधामको विकासकालागि थुप्रो काम गर्न बाँकी रहेपनि जनकपुरधाम विकासको पथमा अगाडी बढिसकेको उनको भनाई थियो । उनले भने ‘यो सडकखण्डमा फ्लाई ओभरको योजना समेत ल्याइएको र डिजाइन निर्माणमा लेट भएकाले सो काम अगाडी बढ्न सकेको छैन । उदघाटन कार्यक्रममा पूर्वमन्त्री जुली महतो, प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुर लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सडक डिविजन कार्यालय जनकपुरधामको अगुवाईमा सम्पन्न भएको विद्युतिकरण योजनाको ठेक्का कडेल ब्राइट सन जेभी काठमाडौँले पाएको थियो । सो निर्माण कम्पनी ४ करोड ३८ लाख ८९ हजार लागतमा ढल्केवर–जनकपुर–जटही सडकखण्डमा विद्युत्तिकरणको काम सम्पन्न भएको हो ।