एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ५ :
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खडकाले खेतबालीलाई आवश्यक सिँचाइ उपलब्ध गराउन विद्युत आपूर्तिको प्रक्रिया छिट्टै पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । उहाँले नेपाल विद्युत प्राधिकरणको जनकपुरधामस्थित प्रादेशिक कार्यालयमा पुगेर सिँचाइका लागि आवश्यक विद्युत आपूर्तिबारे छलफल गर्नुभयो र सहज आपूर्ति सुनिश्चित गर्न निर्देशन दिनुभयो ।
जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खडकाले सरकारले मधेसलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेकाले त्यसअनुरुप तयारी अगाडि बढाइएको जानकारी दिनुभयो । मौसम पूर्वानुमान विभागले वर्षा नहुने सम्भावना जनाएको भन्दै उहाँले धान रोपाइँ भएका खेतमा धाजा नफाटोस् भन्ने उद्देश्यले सरकार हरसम्भव प्रयासरत रहेको बताउनुभयो ।
सिँचाइको समस्या बढ्दै गएकाले यसको प्रत्यक्ष असर कृषि उत्पादनमा परेको मन्त्री खडकाको भनाइ छ । भविष्यमा यस्ता समस्या दोहोरिन नदिन नहरहरूको सरसफाई, पुराना नहरहरूको मर्मत–सम्भार तथा कृषि विद्युतिकरणजस्ता कार्यक्रम अघि बढाउने तयारी सरकारको रहेको उहाँले स्पष्ट पार्नुभयो ।