एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ४ :
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बजेट बिनियोजनमा भेदभाव भइरहेको आरोप फेरी दोहर्याउनु भएको छ । नेपाल ईट्टा उद्योग संघ मधेस प्रदेशको दोस्रो अधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले सबैभन्दा बढी राजश्व उठाउने प्रदेश मधेस नै रहेपनि बजेट बाँडफाँडमा असमानता देखिएको बताउनु भयो । उहाँले भौगोलिक आधारलाई मुख्य मापदण्ड बनाएर बजेट वितरण गर्ने गरिएको र जनसंख्यालाई आधार नै नमान्ने गरिएकोले यो असमानता देखिएको स्पष्ट पार्नुभयो ।
उहाँले मधेस प्रदेशले देशको कुल ग्राहस्थ उत्पादनमा उल्लेखनीय योगदान पुर्याउँदै आईरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘मधेसमा आँप, माछा, धान, मकै, गहुँ, उखु लगायतका अन्नबाली उत्पादनमा अग्रणी स्थानमा रहेको छ, जसले मुलुकको जीडीपीमा उल्लेख्य योगदान पुर्याउँदै आईरहेको छ ।’
एक अर्को प्रसंगमा मुख्यमन्त्री सिंहले ईट्टा व्यवसायले बेरोजगारी समस्या केही हदसम्म समस्या समाधान गर्न सक्ने बताउनुभयो । ईटा उद्योगीहरूले भारतीय मजदुरको साटो स्थानीय बेरोजगार मजदुरहरुलाई रोजगारी दिन तर्फ ध्याय पुर्याउनु आवश्यक रहेको मुख्यमन्त्री सिंहको भनाई थियो ।