एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ३ :
मधेस प्रदेशका गृह, संचार तथा कानून मन्त्री राजकुमार लेखीले आम नागरिक सूचनाको हकबाट बञ्चित रहेसम्म सुशासन कायम हुन नसक्ने बताएका छन् । गृह, संचार तथा कानून मन्त्रालयले आयोजना गरेको सूचनाको हक कार्यान्वयनको अवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले यस विषयमा आफ्ना धारणा राखे ।

मन्त्री लेखीले भने, “सूचनाको हक लोकतन्त्रको स्तम्भ हो । सबै नागरिक सू–सुचित हुनु आवश्यक छ र यसका लागि सबै निकाय र पक्षले गम्भीर हुनुपर्छ ।”
उनले नागरिकले आफ्नो अधिकारको रूपमा सूचनाको हक लिनुपर्ने र निर्वाचित जनप्रतिनिधिले यसको प्रभावकारी कार्यान्वयनको जिम्मेवारी लिनुपर्नेमा जोड दिए । साथै मधेस प्रदेशका सम्पूर्ण निकायलाई यस विषयमा जिम्मेवार बन्न आग्रह गरे ।
उनले स्वीकार गरे कि सरकार, मन्त्रालय र कार्यालयले सूचनाको हक कार्यान्वयनमा पर्याप्त जिम्मेवारी लिन नसकेको तितो यथार्थ छ । मन्त्री लेखीका अनुसार राज्यका हरेक निकाय, गैरसरकारी संस्था र आम नागरिक समेत यसमा जिम्मेवार हुनुपर्छ ।
उनले नागरिकमा सू–सुचित हुने भावना विकास गर्नु लोकतन्त्र, संघीयता र समावेशिताको स्थायित्वका लागि अनिवार्य रहेको पनि बताए ।





