एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १ :
भगवान श्रीकृष्णको जन्मोत्सवको अवसरमा जनकपुरधामसहित आसपासका गाउँ–गाउँमा विविध धार्मिक कार्यक्रम र भव्य मेलासहित कृष्ण जन्माष्टमी पर्व मनाइँदै छ।
जनकपुरधामको रेल्वे स्टेशन, कृष्ण मन्दिर, जिरोमाइल, भ्रमरपुरा चोक लगायतका स्थानहरूमा आकर्षक मेला तथा धार्मिक आयोजनाहरू भइरहेको छन्। विशेष गरी रेल्वे स्टेशन क्षेत्रमा स्थानीय स्टेशन एरिया युवा समितिको अगुवाइमा परम्परागत रूपमा देवी–देवताको पार्थिव मूर्ति स्थापना गरी भव्य मेला आयोजना हुँदै आएको छ।

त्यस्तै जनकपुरधाम–४ स्थित ऐतिहासिक कृष्ण मन्दिरमा विहानैदेखि श्रद्धालु भक्तजनहरूको भीड लागेको छ। गोपाल सेवा समितिको अध्यक्ष बजरंग यादवका अनुसार समितिको पहलमा विगत ४० वर्षदेखि निरन्तर रूपमा कृष्ण जन्माष्टमी पूजाको आयोजना हुँदै आएको छ।

हिन्दु परम्परा अनुसार भाद्र कृष्ण अष्टमी तिथिको मध्यरातमा ज्ञानयोग, हठयोग तथा कर्मयोगका प्रणेता भगवान श्रीकृष्णको माता देवकीको कोखबाट जन्म भएको थियो। द्वापरयुगमा भएको सो दिव्य जन्मको स्मरणमा प्रत्येक वर्ष हिन्दू धर्मावलम्बीहरूले श्रद्धा, भक्ति र उल्लासका साथ कृष्ण जन्माष्टमी पर्व मनाउँदै आएका छन्।






