एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १ :
गुठी संस्थानसँगको सम्झौतामा लिइएको जग्गाबारे विवाद बढेपछि वकिलहरुले गरेको सांघातिक आक्रमणमा संलग्नहरुलाई तत्काल पक्राउ गर्न माग गर्दै पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि धर्ना दिएका छन् ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाको अगुवाइमा प्रादेशिक समितिले आइतबार बिहान ११ देखि १२ बजेसम्म प्रशासन कार्यालय अगाडि धर्ना दिँदै दोषीमाथि कडा कारबाहीको माग गरेका हुन् ।
पत्रकार महासंघ मधेसले केन्द्रीय गुठीसँग सम्झौता गरेर सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी ४ कठ्ठा जग्गा लिजमा लिएको भए पनि नेपाल बार एशोसिएशन जनकपुरमा आवद्ध वकिलहरुले त्यसमा अवरोध पुर्‍याउँदै अनाहकमा विवाद झिकेको महासंघ धनुषाका अध्यक्ष पुरन साहले बताए । उनले सो विवादलाई लिएर पत्रकारमाथि भएको सांघातिक आक्रमणका दोषीलाई प्रहरीले पक्राउ नगरेकोप्रति आक्रोश व्यक्त गरे । “दोषी पक्राउ नभएसम्म आन्दोलनलाई अझ कडा बनाइनेछ,” उनले चेतावनी दिए ।

यसैबीच, महासंघ मधेसका अध्यक्ष श्यामप्रसाद बन्जाराले आक्रमणकारीविरुद्ध किटानी जाहेरी दिए पनि स्थानीय प्रशासनले आवश्यक कारबाही नगरेको भन्दै असन्तुष्टि जनाए । उनले आन्दोलन उग्र नबनोस् भन्ने उद्देश्यले अहिले शान्तिपूर्ण धर्ना दिइएको तर प्रशासनले बेवास्ता गरेमा देशव्यापी आन्दोलन चर्किन सक्ने चेतावनी दिए ।

गत साउन २७ गते जग्गा विवादका क्रममा वकिलहरुले पत्रकारमाथि गरेको आक्रमणमा महासंघ मधेसका अध्यक्ष श्यामप्रसाद बन्जारा, महासचिव शैलेन्द्र महतो, उपाध्यक्ष ज्योती झा, पत्रकार दिवाकर राय, अनिलकुमार निराला र विनिता यादव घाइते भएका थिए ।