एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १ :
नेकपा माओवादी केन्द्रको उपाध्यक्ष पम्फा भुसालले वर्तमान सरकारको कदमहरु सुशासनको विरुद्ध रहेको आरोप लगाउनु भएको छ ।
जनकपुरधाम विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै भुसालले वर्तमान सरकार भ्रष्टाचारीहरुको संरक्षक र जनविरोधी कानून ल्याउने सरकारको रुपमा परिचित हुँदै गईरहेको बताउनुभयो । उहाँले भ्रष्टाचारविरोधी अभियानको नाममा आफ्ना प्रतिद्वन्द्वीहरुमाथि प्रतिशोध साध्ने हतियारको रुपमा प्रयोग गरिदै आएकोमा आपत्ति समेत जनाउनु भयो । भुसालले भूमि विधेयक, शिक्षा विधेयक लगायतका विधेयकहरुको उदाहरण दिँदै सुशासनमा चुकेको सरकार जनविरोधी कानून ल्याउन उद्दत रहेको आरोप समेत लगाउनु भयो ।
एक अर्को प्रसंगमा भुसालले माओवादी केन्द्र विचार मिल्ने दलहरुसंग एकताका लागि प्रयास गरिरहेको स्पष्ट गर्नु भयो । उहाँले एकिकृत समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपा, महेन्द्र यादव नेतृत्वको नेसपा सहितका दलहरुसंग एकताका लागि वार्ता चलिरहेको र साकारात्म परिणाम निस्किने विश्वास व्यक्त गर्नुभयो ।





