एसपी रिपोर्टर
जनकपुरधाम, साउन ३० :
मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीकै कार्यकालमा प्रहरी समायोजन भएर प्रदेश मातहत प्रहरी आउने विश्वास व्यक्त गर्नु भएको छ । सेवा प्रवाहमा प्रदेश सरकारलाई समस्या हुँदै आईरहेकाले प्रहरी समायोजन आवश्यक रहेको मुख्यमन्त्री सिंहले बताउनु भयो । प्रधानमन्त्री ओली प्रमुख अतिथि रहेको कार्यक्रममा प्रधानमन्त्री समक्ष मुख्यमन्त्री सिंहले प्रहरी समायोजन प्रकृया छिटो भन्दा छिटो अगाडी बढाउन आग्रह गर्नुभयो ।
उहाँले गत आर्थिक वर्षमा संघियता आए पश्चात सबैभन्दा बढी बजेट खर्च भएको जानकारी दिदै पछिल्लो वर्षभन्दा दोब्बर राजश्व संकलन भएको बताउनुभयो । अन्य क्षेत्रहरुमा समेत प्रभावकारी ढंगले प्रदेश सरकारलाई काममा सहयोग पुर्याउनकालागि प्रहरी प्रदेश सरकार मातहत हुनु आवश्यक रहेको बताउनु भयो ।
मधेस प्रदेश प्रहरीको नवनीर्मित भवनको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले प्रहरी समायोजनपछि मधेस प्रदेश प्रहरीको हेडक्वार्टरसम्म बनाउने गरी भवन निर्माण भएकोमा खुशी व्यक्त गर्नुभयो ।





