एसपी रिपोर्टर
जनकपुरधाम, साउन २९ :
मधेस प्रदेशको गृह संचार तथा कानून मन्त्री राजकुमार लेखीले समुदायलाई विपदको जोखिमबाट जोगाउने सबैको साझा दायित्व रहेको भावनाको विकास हुनु आवश्यक रहेको बताउनु भएको छ । मधेसको गृह संचार तथा कानून मन्त्रालयको आयोजनामा भएको विपद (सुख्खा) संकटग्रस्त प्रतिकार्य कार्ययोजना तर्जुमा कार्यक्रमलाई सम्बोधन गर्दै लेखीले पछिल्लो समय विपदका घटनाहरु बढ्दै गईरहेको समयमा विपदबाट समुदायलाई जोगाउने दायित्व हामी सबैको रहेको भावना हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले विपदबाट जोगिनकालागि केन्द्र सरकार वा प्रदेश सरकारले नै योजना ल्याउनुपर्छ भन्ने भावनाको विकास हुनु चिन्ताको विषय रहेको बताउनु हुँदै स्थानीय स्तरमा समेत यसकालागि योजना ल्याउनु आवश्यक रहेको बताउनुभयो । विपद तथा सुख्खाबाट मधेस पछिल्लो वर्षहरुमा आक्रान्त रहेको समयमा समेत सरोकारबला निकाय गम्भीर नरहेको मन्त्री लेखीको आरोप थियो । उहाँले विपद सम्बन्धी यति महत्वपूर्ण छलफलमा समेत सम्बन्धित मन्त्रालय तथा सरोकारबला निकायको अनुपस्थितिले हामी अझै गम्भीर नरहेको कुरा स्पष्ट भईरहेको बताउनु भयो ।