एसपी रिपोर्टर
जनकपुरधाम, साउन २७ :
जग्गाको विषयमा विवाद भएपछि वकिलहरुले पत्रकारहरुमाथी आक्रमण गर्दा नेपाल पत्रकार महासंघ, मधेस प्रदेशका अध्यक्षसहित आधा दर्जन पत्रकार घाइते भएका छन् । घटनाको मूल कारण भने गुठी संस्थानको लिजमा लिएको जग्गालाई लिएर उत्पन्न विवाद हो ।
महासंघले जनकपुरधाम उपमहानगरपालिका–४ स्थित ४ कट्ठा जग्गा गुठी संस्थानबाट २० वर्षका लागि लिजमा लिएको थियो । मंगलबार बिहान उक्त जग्गामा तारबार लगाउने काम भइरहेको समयमा नेपाल बार एशोसिएसन, जनकपुरधामका वकिलहरुको झुण्डले पत्रकारहरूमाथि आक्रमण गरेको थियो ।

आक्रमणमा परेर नेपाल पत्रकार महासंघ मधेसका अध्यक्ष श्यामप्रसाद बनजारा, महासचिव शैलेन्द्र महतो, उपाध्यक्ष ज्योती झा, पत्रकार दिवाकर राय, अनिलकुमार निराला र विनिता यादव घाइते भएका छन् । कुटपिटबाट महासचिव महतोको पैतालाको हड्डीसमेत भाँचिएको छ ।
महासंघका अनुसार गुठी संस्थानसँग ४ कट्ठा जग्गाको सम्झौता गत साउन १९ गते गरिएको हो । यसअघि गोरखापत्रमा प्रकाशित सूचना अनुसार जेठ ७ गते तीनवटा जग्गाका लागि प्रस्ताव आह्वान गरिएको थियो । विभिन्न संघसंस्थाले प्रस्ताव पेस गरे पनि पत्रकार महासंघको प्रस्ताव छनौटमा परेको थियो ।

महासचिव महतोका अनुसार साउन २ गते गुठी संस्थानले गोरखापत्रमा महासंघको प्रस्ताव स्वीकृत भएको सूचना प्रकाशित गरेको थियो भने साउन ९ गते सम्झौताका लागि पत्र पठाएको थियो ।
बार एशोसिएसनको तर्फबाट भने उक्त जग्गा पूर्वदेखि पार्किङको रूपमा प्रयोग हुँदै आएको भन्दै आपत्ति जनाइएको छ । तर महासंघले कानुनी प्रक्रिया पूरा गरी लिजमा लिएको जग्गामा तारबार गर्न पाउनु आफ्नो अधिकार भएको बताएको छ ।