एसपी रिपोर्टर
जनकपुरधाम, साउन २० :
मेयर र उपमेयरबीचको विवादले धनुषाको नगराईन नगरपालिका महिनौदेखि ठप्प रहेको छ । ती विवादले गत आर्थिक वर्षको नगरसभा समेत नगरपालिकाले गर्न पाएको छैन । नगरसभा गर्न नपाएका कारण नगरपालिकाको सम्पूर्ण आर्थिक कारोबार ठप्प रहेको छ ।
यी समस्याका कारण मेयर विनय यादवको रहेको आरोप उपमेयर राधा देवी यादवले लगाएकी छिन । मंगलवार उनले एक पत्रकार सम्मेलन आयोजना गरी मेयर यादवले आफ्ना निहित स्वार्थका कारण बहुमतको कदर नगरी महिनौदेखि नगरपालिकालाई बन्धक बनाएर राखेको आरोप लगाईन ।
हुनत मेयर र उपमेयरबीचको विवाद तिनीहरु कार्यकाल सम्हालेदेखि नै चल्दै आएको गत वर्षपनि विवादकै कारण समयमा नगर सभा हुन सकेको थिए । अन्ततः कात्तिक महिनामा दुवै पक्षबीच सर्वपक्षीय सहमति पश्चात विवाद साम्य भएको थियो । तर सो सहमतिको केही दिनमै पुनः विवाद उत्पन्न भएको हो ।
नगराईन नगरपालिकाकी उपमेयर राधादेवी यादवले कांग्रेसबाट निर्वाचित मेयर विनयकुमार यादवले बहुमत कार्यपालिका सदस्यहरुलाई बेवास्ता गरी मनोमानी गरेको आरोप लगाउँदै आफूहरुले बैठक बहिष्कार गरेको बताइन् । उनले मेयरले आफ्नो अधिकारमा समेत हस्तक्षेप गरेको आरोप लगाइन् ।

उनले विगतमा भएको स्थानीय तह सञ्चालन सम्बन्धी ऐन २०७४ कार्यान्वयन गर्न र अहिलेसम्म मनोमानी ढंगले मेयरले आफ्नो अनुकूल बनाएको कार्यविधि संशोधन गर्ने पछिल्लो सहमति अनुसार कार्यान्वयन नभएसम्म आफूहरुले पालिकाको सम्पूर्ण कामकाज ठप्प पार्ने बताइन् ।
उपमेयर राधादेवीले स्थानीय सरकार ऐन सञ्चालन ऐन, २०७६ खारेज गरी स्थानीय सरकार २०७४ लागू नभएसम्म नगरसभा हुन नदिने भन्दै विरोध जनाएपछि अहिलेसम्म नीति तथा कार्यक्रम एवं बजेट सभा समेत हुन सकेको छैन । आन्दोलनका कारण अहिले नगरपालिकाको कामकाज ठप्प छ ।
पत्रकार सम्मेलनमा नगराईन नगरपालिकाका उपमेयर राधादेवी यादव, वडा नम्बर ५ का वडाध्यक्ष रामनारायण मुखिया, वडा नम्बर ६ का वडाध्यक्ष ललित साह, वडा नम्बर ८ का वडाध्यक्ष संजय राउत, वडा नम्बर ९ का वडाध्यक्ष प्रमोदकुमार राउत र एमालेबाट निर्वाचित ८ जना कार्यपालिका सदस्यलगायतले पनि कार्यविधि संशोधन सहित प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णलाई हटाउने माग गरे ।
यता मेयर विनय कुमार यादवले नगरसभा गर्नको लागि आफूहरु केही बजेट संचालनसम्बन्धी कार्यविधि संशोधन बाहेक अन्य विभिन्न विषयमा सहमति गर्न सकिने बताए ।
उनले विगतमा समेत उपमेयर राधादेवी यादवले करिब नौ महिनासम्म नै नगराईन नगरपालिकालाई बन्धकी बनाएको बताउँदै यसपाली पनि बन्धकी बनाएर नगरको सम्पूर्ण आर्थिक कारोबार ठप्प पार्न खोजेको आरोप लगाए । मेयर यादवले उपमेयरले पालिकाको कामकाज ठप्प पारेर जनतालाई भ्रममा पार्न खोजेको आरोपसमेत लगाए । मंगलवार बस्ने भनिएको कार्यपालिका बैठक नेकपा एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरु सहभागी नभएपछि बैठक स्थगित गरिएको छ ।





