एसपी रिपोर्टर
जनकपुरधाम, साउन २० :
जनकपुरधामको व्यापारिक दृष्टिकोणले महत्वपूर्ण मानिएको पेठीया बजारलाई व्यवस्थित र सुविधा सम्पन्न बनाइने भएको छ । यसकालागि योजनाबद्ध पहल समेत सुरु भई सकेको छ ।
पेठिया बजारलाई व्यवस्थित बनाउने योजना अगाडी बढाउन लागिएको समयमा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठ र पूर्वमन्त्री जुली महतोले निरिक्षण समेतका गरेका छन् । शहरी विकास मन्त्रालयबाट बजेट विनियोजन गराएर पेठिया बजारलाई व्यवस्थित बनाउने प्रक्रिया अगाडी बढाउने प्रतिबद्धता पूर्वमन्त्री महासेठले व्यक्त गरे ।
दुवै नेताले सम्बन्धित प्राविधिक टोलीसहित स्थलगत निरीक्षण गर्दै बजार क्षेत्रको वर्तमान अवस्थाबारे जानकारी लिएका थिए । निरीक्षणको क्रममा बजारको खचाखच भिड, पार्किङको अभाव, नालाको अवस्था, सडक संरचना र सरसफाइ समस्याहरूको प्रत्यक्ष अवलोकन नेताद्वयले गरे ।
पूर्व उपप्रधानमन्त्री महासेठले जनकपुरधामको आर्थिक गतिविधिको मुटु मानिने पेठिया बजारलाई योजना अनुसार संरचना निर्माणमार्फत आधुनिकीकरण गर्न आवश्यक रहेको बताए ।





