एसपी रिपोर्टर
जनकपुरधाम, साउन १७ :
जनकपुरधाम आलु प्याज व्यवसायी संघको नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
जनकपुरधाममा आयोजित एक कार्यक्रमकाबीच आलुप्याज व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण गरेका हुन् ।
मो. अलाउदीन राईनको अध्यक्षतामा सम्पन्न शपथग्रहण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुरज साह, उपाध्यक्ष अजय कुमार साह सचिव मनोज साह, सह–सचिव संजय साह तथा कोषाध्यक्ष सिकेन्द्र साह लगायतका पदाधिकारीहरुले शपथ ग्रहण गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेको नेतृ एवं पूर्वमन्त्री जुली महतोले जनकपुरधाम लगायतको क्षेत्रमा बजार व्यवसाय धाराशायी भईरहेकोप्रति चिन्ता व्यक्त गरेकी छन् । पूर्वमन्त्री महतोले स्थानीय ग्राहक सीमा पारी गएर सामान किन्ने परिपाटी बढ्दै गएपछि यहाँको बजार व्यवसायमा समस्या बढ्दै गईरहेको बताइन् । महतोले जनकपुरधाम मधेसको राजधानी रहेकाले पनि यहाँको बजार व्यवसायलाई जोगाउनु सरकारको पनि कर्तव्य रहेको बताइन् ।

उनले यसकालागि सरकारले व्यापारीहरुलाई के सहुलियत दिएर , अनुदान दिएर हुन्छ कि के गरेर हुन्छ बजार व्यवसाय यहाँको बचाउनै पर्नेमा जोड दिइन् । साथै पछिल्लो समय खडेरीका कारण धान उत्पादनमा ह्रास आउने सम्भावना हुँदा धान तथा चामलमा यस वर्ष पर निर्भरता बढ्ने लगभग निश्चित रहेको अवस्थामा आलु प्याज व्यवसायीहरुलाई उनले हामी आलु प्याज जस्ता उपभोग्य खाद्यवस्तुमा कसरी आत्मनिर्भर हुन सक्छौँ त्यस तर्फ ध्यान पुर्याउन आग्रह गरिन् ।

कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले जनकपुरधामका व्यापारीहरुको सुखदुःखमा सदैव साथ रह्ने प्रतिवद्धता व्यक्त गरे । उनले यहाँको बजार व्यवसायलाई उकास्नकालागि सरकारले नयाँ योजना ल्याउनु आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुरज साहले आलु प्याज व्यवसायलाई जनकपुरधाममा व्यवस्थित बनाउनुका साथै मूल्यमा एकरुपता ल्याउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।







