एसपी रिपोर्टर
जनकपुरधाम, साउन १६ :
जलवायु परिवर्तनका कारण मधेश प्रदेशमा उत्पन्न जलस्रोत संकटका विषयमा बिहीवार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मधेश प्रदेश सरकार अन्तर्गतको गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा सम्पन्न कार्यक्रममा सरोकारवालाबीच संकटका कारण, असर र समाधानका उपायबारे विस्तृत छलफल भएको हो ।
कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले जलवायु परिवर्तन अब कुनै काल्पनिक विषय नभई आजको कठोर यथार्थ रहेको बताए ।

भूमिगत पानीको सतह घट्दै जानु, अनियमित वर्षा र तापक्रमको अत्यधिक वृद्धिले जनजीवन प्रत्यक्ष प्रभावित पारिरहेको उल्लेख गर्दै मन्त्री लेखीले समस्या समाधानका लागि दीर्घकालीन कार्ययोजना निर्माण र कार्यान्वयनमा जोड दिए ।
‘हामीले जलवायु परिवर्तनको असरलाई नदेखेझैं गरेर बस्न मिल्दैन । अहिले नै प्रभावकारी योजना नबनाए मधेशको जलस्रोत र खाद्य सुरक्षामा गम्भीर संकट उत्पन्न हुन सक्छ,’ मन्त्री लेखीले भने ।
अन्तरक्रियामा जल, सिँचाइ, कृषि, स्वास्थ्य तथा वातावरण क्षेत्रका विज्ञ, स्थानीय तहका जनप्रतिनिधि, पत्रकार, नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले जलस्रोत संरक्षण, वातावरणीय शिक्षा विस्तार तथा स्थानीय तहमा आधारित समाधान खोज्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा प्रस्तुत कार्यपत्रमा भूमिगत पानीको स्तर तीव्र गतिमा घट्दै गएको, अत्यधिक गर्मीले बाली सुक्ने समस्या तीव्र भएको तथा खाद्य सुरक्षामा प्रत्यक्ष असर देखिन थालेको विषयमा चेतावनी दिइएको थियो ।