एसपी रिपोर्टर
जनकपुरधाम, साउन १६ :
मधेस सरकारले मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्नुबाहेक केही गर्न नसकेको भन्दै विपक्षी दलहरुले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । जसपा नेपाल मधेसको संसदीय दलको नेता एवं मधेसका पूर्व मुख्यमन्त्री सरोज यादवको अध्यक्षतामा बसेको विपक्षी दलहरुको बैठकबाट सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय अनुसार विपक्षी दलहरुले संयुक्त रुपमा प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाइएको हो । प्रदेश सरकारले गत साउन ६ गते नै खडेरीबाट त्रस्त मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेपनि किसानका लागि खासै केही गर्न नसकेकाले सरकारमाथि दवाब बनाउने उद्देश्यले ध्यानाकर्षण पत्र सरकारलाई बुझाइएको विपक्षी दलका नेताहरुले जनाएका छन् ।
विपक्षी दलहरुले संयुक्त रुपमा बुझाएको ध्यानाकर्षण पत्रमा किसानका लागि राहत प्याकेजको माग, किसानहरुको ऋणमा सहुलीयतका लागि संघ सरकारसंग पहल गर्न माग, सिचाईको तत्काल उचित प्रबन्ध, सतही सिचाई तथा भूमिगत जलश्रोतको प्रबन्ध मिलाउन नदी, नाला, पोखरी लगायतका जलाशयहरुको मरम्मत सम्भार तथा नयाँ जलाशय निर्माण, चुरेको वन संरक्षणमा ध्यान पुर्याउनु पर्ने, खानेपानीको उचीत प्रबन्ध मिलाउन माग गरिएको हो ।
ध्यानाकर्षण पत्र बुझाउनका लागि जसपा नेपालको तर्फबाट सरोज यादव, नेकपा माओवादी केन्द्रको तर्फबाट युवराज भट्टराई, नेकपा एकिकृत समाजवादीको तर्फबाट कनिष पटेल, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट कञ्चन विच्छा र नेपाल संघीय समाजवादी पार्टीको तर्फबाट विमला अन्सारी तरन्नुम पुगेका थिए ।
ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री सतिशकुमार सिंहले विपक्षी दलहरुले बुझाएको ध्यानाकर्षण पत्रलाई आफूहरुले सरकारसंगको एक्यवद्धताको रुपमा लिएको र यसलाई साकारात्मक रुपमै लिएको बताए । उनले सरकार सिचाई तथा खानेपानीको समस्या हल गर्नकालागि गम्भीर रहेको बताए । वर्षेणी पछिल्लो समय हुँदै आईरहेको सिचाईको समस्याले धान उत्पादनमा ह्रास आईरहेको र धानको उत्पादन घट्दा किसानलाई उत्पादनको हिसाबले फाइदा पुग्ने गरी अर्को बालीको विषयमा समेत आफूहरु गम्भीर रहेको बताए ।