एसपी रिपोर्टर
जनकपुरधाम, साउन १५ :
हिन्दू धर्मका महान सन्त तथा ‘रामचरितमानस’का रचयिता सन्त तुलसीदासको जन्म जयन्ती जनकपुरधाममा भव्यता पूर्वक मनाइएको छ । जनकपुरधामस्थित तुलसी स्मारकमा आयोजित विशेष कार्यक्रमका बीच धार्मिक वातावरणमा तुलसी जयन्ती मनाइएको हो ।
कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए । उनले जनकपुरधामको धार्मिक र सांस्कृतिक महत्वलाई स्मरण गराउँदै धार्मिक पर्यटन प्रवद्र्धनमा सरोकारवालाहरूको भूमिका आवश्यक रहेको बताए ।

मुख्यमन्त्री सिंहले जनकपुरधामका होटेल तथा भोजनालयहरूले शुद्धता र सात्विकतालाई ध्यान दिनुपर्नेमा जोड दिए । ‘जनकपुरधाम आउने अधिकांश पर्यटक माता जानकीको दर्शन गर्न आउँछ । उनीहरूको आस्थाको सम्मान गर्दै खानाको गुणस्तर र धार्मिक शुद्धतालाई ख्याल गर्नु हामी सबैको कर्तव्य हो,’ उनले भने ।
कार्यक्रममा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले सन्त तुलसीदासको जीवन र शिक्षामाथि प्रकाश पारे । उनले भने, ‘सन्त तुलसीदासको जीवनले हिन्दू धर्मावलम्बीहरूलाई सत्य, भक्ति र सदाचारको बाटोमा हिँड्न प्रेरणा दिन्छ ।’

जयन्तीको अवसरमा रामचरितमानस पाठ, भजन–कीर्तन, तथा धार्मिक प्रवचनहरू समेत गरिएको थियो । साथै ९ दिने नवाहको आयोजना समेत गरिएको थियो ।
को हुन तुलसी दास ?
सर्वप्रिय साधक र हिन्दु दर्शनका पूर्नब्याख्याकार अनि धार्मीक आख्यानकार र कविकारुपमा प्रसिद्ध तुलसी दास ( सन १५३२ देखि १६२३), जसलाई गोस्वामी तुलसीदासको नामले पनि चिनिन्छ । उनी बिशेषतः भगवान श्री राम प्रतिको सर्मपण अनि उन्का खण्डकाब्य रामचरित्रमानस र संस्कृत रामायणको नयाँ अध्याय (तुलसीकृत रामायण) का लागी यस जगमा प्रसिद्घ छन् । छन्दगत अभिब्यक्तिका लागि उत्कृष्ट तुलसी दासले यो जगत छाडेर गएका लगभग ४५० बर्ष भइसके पनि बिभिन्न पूजाकोठा, मठ मन्दिर, देवल, पुस्तकालय अनि बिधापीठहरुमा तुलसी दासको अवधी भाषाको रामायण अझै पनि देख्न सकिन्छ ।
कवि तुलसीदासलाई वाल्मिकीको पूर्नजन्मका रुपमा सम्म लिइन्छ र अझै पनि उन्ले लेखेका हनुमान चालीसाका श्लोकहरु नेपाल, भारत लगायत विश्वभरिनै अर्चना गरिने, गाइने अनि जप्ने गरिन्छ । आफ्नो जिवनको अधिकाशं काल तुलसीदासले वाराणसी अर्थात वनारसमा विताएका हुन् । बनारसमा अहिलेपनि तुलसीदासको नाममा एउटा घाटको नामाकरण गरिएको छ । तुलसीदास पुरापुरी १२ महीना आमाको गर्भम रहेका र जन्मदानै १२ वटा दाँत भएका थिए रे भन्ने कथाहरु आजसम्म पनि सुनिन्छ । जन्मनासाथ अरु बच्चाहरु झैं नरोइकन तुलसीदासले बरु रामको नाम लिएका थिए रे र त्यसैकारणले उनको नाम रमबोला रहन गएको भनि तुलसी आँफैले बिनायपत्रिकामा लेखेका छन् ।