एसपी रिपोर्टर
जनकपुरधाम, साउन १५ :
लैंगिक हिंसा सम्बन्धी घटना व्यवस्थापन तथा सेवा प्रेषण प्रणाली निर्देशिका, २०८२ को मस्यौदा मधेसका खेलकूद तथा समाज कल्याण मन्त्री प्रमोदकुमार जयसवाललाई हस्तान्तरण गरिएको छ ।
निर्देशिका तयार गर्न गठित कार्यदलले मन्त्रालयमा पुगेर उक्त मस्यौदा हस्तान्तरण गरेको हो । कार्यदलका संयोजकसमेत रहेकी समाज कल्याण महाशाखा प्रमुख निर्मला मिश्रले मन्त्री जयसवाललाई निर्देशिकाको मस्यौदा बुझाएकी हुन् ।
मस्यौदा बुझ्दै मन्त्री जयसवालले महिला तथा लैंगिक हिंसाका घटना रोकथामसँगै पीडितको पुनःस्थापनाका लागि निर्देशिकाले न्याय सुनिश्चित गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘मधेश प्रदेशमा परम्पराका नाममा हुने हिंसाका घटना गम्भीर छन् । यस्तो अवस्थालाई अन्त्य गर्न सबै मिलेर लाग्नुपर्छ । निर्देशिकाले यस अभियानमा मार्गदर्शन र सहायता पु¥याउनेछ ।’
उनले प्रदेश सरकारले सञ्चालन गर्दै आएको महिला हिंसा विरुद्धको अभियान अझ प्रभावकारी बन्ने विश्वास पनि व्यक्त गरे ।
कार्यक्रममा मन्त्रालयका निमित्त सचिव रञ्जितकुमार यादवले निर्देशिकाले पीडितले न्याय पाउने सुनिश्चितता गर्ने उल्लेख गर्दै, ‘कानुन परिवर्तनशील दस्तावेज हो, आवश्यक परे संशोधन गर्दै अघि बढ्न सकिन्छ,’ भन्ने धारणा राखे ।
सीएमसी नेपालका कन्सल्टेन्ट कोषराज न्यौपानेले निर्देशिकाले पीडितलाई घटनाव्यवस्थापनदेखि पुनःस्थापनासम्मको प्रक्रिया समेट्ने जानकारी दिए । निर्देशिकामा कानुनी सहायता, मनोसामाजिक परामर्श, उपचार, अल्पकालीन तथा दीर्घकालीन सुरक्षा, जीविकोपार्जनको व्यवस्था गरिएको छ ।
उक्त कार्यदलमा खेलकूद तथा समाज कल्याण मन्त्रालय, अर्थ मन्त्रालय, गृह संचार तथा कानून मन्त्रालय, स्वास्थ्य मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका,प्रादेशिक अस्पताल ओसीएमसी, युएनएफपीए, सीएमसी नेपाल, ईयु एजेन्सीजका प्रतिनिधिहरु रहेका थिए । कार्यदल गत वैशाख १५ गतेको बैठकबाट गठन गरिएको थियो । कार्यदलमा राष्ट्रिय बाल अधिकार परिषद्को समेत प्रतिनिधि रहेका थिए ।





