एसपी रिपोर्टर
जनकपुरधाम,साउन १४ :
जनकपुरधाम ४ कटैया चौरीमा खुकुरी आक्रमणबाट मंगलवार एक किशोरीको ज्यान गएको छ भने आमा र भतिजी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते आमालाई घटनाको अनुसन्धानमा सहजीकरण होस् भन्ने उद्देश्यले प्रहरीको सक्रिय सहयोगमा प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारत घाइते आशा देवीलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा अस्पताल) मा थप उपचारका लागि पठाइएको छ ।

घटना जनकपुरधाम–४ स्थित स्वर्गीय सूर्यनन्द चौधरीको एकतले पक्की घरमा डेरा गरी बस्दै आएकी १९ वर्षीया अञ्जलीकुमारी यादवको हत्या भएको हो । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–९, इच्छापुर निवासी ३५ वर्षीय रामबाबु साहले अञ्जलीमाथि खुकुरी प्रहार गरेका थिए ।
घटनामा अञ्जलीकी आमा आशा देवी यादव र १४ वर्षीया भतिजी राधा यादव गम्भीर घाइते भएकी छन् । घटना गएराति करिब ११ः३० बजे भएको थियो । घटनास्थलमै अञ्जलीको मृत्यु भएको थियो । घाइते दुईजनामध्ये आमाको अवस्था चिन्ताजनक देखिएपछि प्रहरीको व्यवस्थापनमा उनलाई धरानस्थित घोपा अस्पताल रिफर गरिएको हो ।
प्रहरी स्रोतका अनुसार आरोपी रामबाबु साह यसअघि आफ्नै श्रीमतीको हत्या आरोपमा पाँच वर्ष जेल सजाय भोगी छुटेका व्यक्ति हुन् । अहिले फरार रहेका साहको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ ।