एसपी रिपोर्टर
जनकपुरधाम , साउन ११ :
समाजवादी युवा संघ, नेपालले मधेश प्रदेश सरकारलाई मधेशमा रहेको सुक्खा संकटलाई ध्यानमा राखेर दिर्घकालिन योजना बनाएर काम अगाडी बढाउन माग सहित ८ बुँदे ज्ञापनपत्र बुझाएको छ । संघले जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न सामाजिक, आर्थिक तथा पर्यावरणीय समस्याहरूमा प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो ।

समाजवादी युवा संघ धनुषाका अध्यक्ष मदन साहको अगुवाई गएको टोलीले मधेस सुक्खाग्रस्त रहेको समयमा प्रदेशका स्थानीयलाई राहत पुग्नेगरी सरकारले काम गर्न नसकेको भन्दै प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको हो । यस अघि जिल्ला प्रशासन कार्यालय धनुषामा समेत ज्ञापन पत्र सो टोलीले बुझाएको थियो ।

मधेश मरुभूमि बन्ने दिशामा गइरहेको छ र जनताले पानीको चरम अभाव भोगिरहेका छन्, समाजवादी युवा संघ मधेसका मुख्यसचिव दिपु कापरले भने ‘यथास्थितिमा केवल ’सुख्खाग्रस्त क्षेत्र’ घोषणा गरेर मात्र राहत पुग्दैन भन्ने तर्क गर्दै उक्त अवस्थालाई ‘प्राकृतिक आपतकाल’को रूपमा लिएर युद्धस्तरमा समाधान खोज्न प्रदेश सरकारसँग आग्रह गरेका छौँ ।’
उनले संघले सुख्खाको समस्या समाधानका लागि संघीय सरकारसँग आवश्यक स्रोत, साधनको व्यवस्थाका लागि तत्काल पहल गर्न समेत माग गरे । साथै, मधेश बचाउन प्रदेश सरकारले अन्य सरोकारवालासँग संयुक्त मोर्चा बनाएर नेपाल सरकारसँग विशेष राहत प्याकेजका लागि वार्ता गर्नुपर्नेमा जोड दिएको उनले बताए ।

ज्ञापनपत्रमा चुरे क्षेत्रको संरक्षणका लागि राष्ट्रिय योजना ल्याई अवैध उत्खनन, क्रसर उद्योगहरू बन्द गरिनुपर्ने, मधेशको कृषि संरक्षण तथा प्रवद्र्धनका लागि सिचाइ योजनाहरू शीघ्र सम्पन्न गर्नुपर्ने, तथा मलखाद्यको दीर्घकालीन समाधान खोज्नुपर्ने उल्लेख गरिएको छ ।
किसानहरू भारतीय बजारबाट मल ल्याउँदा सीमामा प्रहरीले जफत गर्ने तथा दुःव्यवहार गर्ने घटना प्रति संघले आपत्ति जनाउँदै या त सरकार स्वयं मल उपलब्ध गराओस् वा किसानलाई सहज रुपमा मल ल्याउन दिने व्यवस्था मिलाइनुपर्ने माग गरेको छ ।
त्यस्तै, चालु आर्थिक वर्ष २०८१÷८२ को बजेटमा दुईवटा रेडबुक प्रकाशित हुनु र अन्य अनियमितता देखिनु प्रदेश सरकारकै मान–प्रतिष्ठामा आँच पु¥याउने विषय भएको भन्दै संघले छानबिन गरी दोषीमाथि कारबाही गर्न आग्रह गरेको छ ।